21st September | 2018 | Friday | 5:18:47 PM

मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन, विवादमा आउने काम नगर्नुस्

हिमालय टाइम्स   POSTED ON : Thursday, 12 July, 2018 (2:42:31 PM)

मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन, विवादमा आउने काम नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँग छलफल गरेका छन् । केही अघि सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आआफ्नो मन्त्रालयगत कार्ययोजना तयार पार्न सबै मन्त्री र सचिवलाई निर्देशन दिएका प्रधानमन्त्री ओलीले बुधबार ती कार्ययोजना संकलनसहित छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले विवादित भूमिकामा देखिएका केही मन्त्रीलाई चेतावनीसमेत दिएको बताइन्छ । ‘तपाईंहरूले गर्ने कामका आधारमा सिंगो सरकारको मूल्यांकन हुन्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘विवादमा आउने काम बन्द गर्नुस्, जनतालाई प्रत्यक्ष राहत पुग्ने काममा ध्यान दिनुस् ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसअघि नै सबै मन्त्रालयको काम कारबाहीको अनुगमन गर्ने योजना तयार पारिसकेको छ । मन्त्रालयहरूले बनाएको कार्ययोजना समयमै कार्यान्वयन भए नभएको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन गर्नेछ ।

प्रधानमन्त्रीको यसअघिको निर्देशनअनुसार मन्त्रालयहरूले आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गर्ने कार्यक्रम तथा आन्तरिक रचनात्मक कार्यको खाका प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन् । ‘योजना बनाउने तर कार्यान्वयनमा फितलो देखिने विगतका अभ्यासलाई ध्यानमा राख्दै मन्त्रालयहरूको काम कारवाहीलाई व्यवस्थित तुल्याउन यस किसिमको अभ्यास गरिएको हो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘मन्त्रालयहरूले प्रस्तुत गरेको कार्ययोजनाअनुसार काम भएको छ कि छैन भनेर प्रधानमन्त्री कार्यालयले सूक्ष्म अनुगमन गर्नेछ ।’

प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री, मुख्यसचिव, मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी थिए ।

जेठ २१ गते यस्तै बैठकमा प्रधानमन्त्री ओलीले सबै मन्त्रालय र विभागहरूलाई तथ्यांकसहित बृहत् योजना बनाउन निर्देशन दिएका थिए । 

सिन्डिकेटबारे छलफल

काठमाडौं (हिटा) । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको अवस्था र सिन्डिकेट अन्त्यका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवसँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले मन्त्री रघुवीर महासेठ र सचिव मधुसूदन अधिकारीलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरेका हुन् ।

चावहिल–बौद्ध–जोरपाटी, कलंकी–थानकोट लगायतका सडकको अवस्था र सार्वजनिक यातायातको क्षेत्रमा केही समयअघिसम्म कायम रहेको सिन्डिकेट पूर्णरूपमा अन्त्य गर्ने विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारहरूको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ओलीले विभागीय मन्त्री र सचिवसँग छलफल गरेको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले नेपालको यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य भइसकेको स्मरण गराउँदै सार्वजनिक यातायातलाई तत्काल कम्पनीमा रूपान्तरण गर्ने लगायतका आवश्यक कार्यहरू तत्कालै सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले यातायात क्षेत्रको सिन्डिकेट सदाका लागि अन्त्य गर्न दीर्घकालीनरूपमा सम्पन्न गर्ने कार्यको उपयुक्त कार्ययोजनासहित अगाडि बढ्न तथा सार्वजनिक यातायातलाई भरपर्दो, सेवाग्राही एवं प्रविधिमैत्री बनाउँदै वृद्धवृद्धा, अपांग लगायतलाई प्रदान गरिने आरक्षणको सुविधा उपभोगलाई सहज बनाउनसमेत निर्देशन दिए ।

उनले कलंकी–थानकोट, चावहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका थिए ।

छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सिन्डिकेट पूर्णरूपमा अन्त्य भएकाले कुनै पनि हालतमा यसको पुनरागमन नहुने बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । उनले प्रधानमन्त्रीसमक्ष सडक बत्ती, चावहिल–बौद्ध–जोरपाटी, कलंकी–थानकोट एवं उपत्यकाका सडकका खाल्टाखुल्टी व्यवस्थापनका सम्बन्धमा ५० दिनभित्र आम नागरिकलाई महसुस हुने गरी सुधार गरिने प्रतिबद्धता जनाएका छन् ।


Views: 0