23rd July | 2018 | Monday | 6:20:36 AM

मालपोत कार्यालयमा मन्त्रीको अनुगमन

हिमालय टाइम्स   POSTED ON : Thursday, 12 July, 2018 (3:39:43 PM)

मालपोत कार्यालयमा मन्त्रीको अनुगमन

काठमाडौं । केही महिनअघि कालिमाटी तरकारी बजारका साथै विभिन्न डेरी उद्योगहरूको आकस्मिक अनुगमन गरेका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले बुधबार कलंकीस्थित मालपोत कार्यालयको आकस्मिक अनुगमन गरेका छन् । 

सुरुमा सेवाग्राहीको गुनासो सुनेका उनले सेवाग्रहीको गुनासोपछि १४ बुँदे निर्देशनसमेत दिएका छन् । मन्त्री खनालले मालपोत र नापी कार्यालय भ्रष्टाचारको अखडो भएको व्यापक जनगुनासो रहेको भन्दै सुधार गर्न निर्देशन दिएका हुन् । उनले अनुगमनका क्रममा मालपोत विभागमा हुने गरेको अनियामितता, ढिलासुस्ती र अस्तव्यस्ततका बारेमा प्रमुख मालपोत अधिकृत नवीन किशोरसँग प्रश्न गरेका थिए । 

फटाफट काम किन भएन, मानिसको अधिक चाप, विचौलियालगायतका विषय प्रश्न उठाएका थिए । साथै उनले कित्ताकाटको पछिल्लो विवरणसमेत माग गरेका थिए । उनले भने, ‘मालपोत र नापीप्रति देशभरका जनतामा नकारात्मक छाप छ भन्ने भुल्न भएन । यो भ्रष्टाचारको अखडा हो, त्यहाँ कहिले पनि शुद्ध हुन्न भन्ने कुरालाई निमिट्यान्न पार्नुपर्छ । मैले यो मन्त्रालय सम्हालिसकेपछि मालपोत र नापीबाट मात्र निलम्बित कर्मचारीको संख्या ७० नाघेको छ, मैले हेरिरहेको छु । यस्तै हो भने त मालपोत र नापीका कर्मचारी सकिन्छन् त ।’ 

प्रमुख मालपोत अधिकृत नवीन किशोरले भने सकेसम्म सेवाग्राहीको काम छिटोछरितो होस् भन्ने सोचका साथ आफूहरूले काम गरिरहेको दाबी गरेका थिए । हाल अनलाइनबाट फारम भर्ने र डकुमेन्टहरू स्क्यान गरेर राख्न निर्देशन दिइएकोमा स्क्यान गर्न धेरै समय लाग्ने समस्या रहेको उनको गुनासो थियो । उनले भने, ‘इन्टरनेट चल्दैन । सुविसुको नेट राम्रोसँग नचल्दा समस्या भयो । इन्टरनेट नै नचलेपछि अस्ति त हामीले सूचना टाँसेर कार्यालय बन्द ग¥यौं । सेवाग्राहीको मुख्य गुनासो यसैमा आउँछ ।’ अनुगमनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालका साथै राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनालीलगायतको सहभागिता रहेको मन्त्रीका मिडिया संयोजक बोमलाल गिरीले जानकारी दिएका छन् ।