17th July | 2018 | Tuesday | 1:43:37 PM

उपकुलपति डा. कोइरालालाई कारबाही गर्न माग

हिमालय टाइम्स   POSTED ON : Thursday, 12 July, 2018 (10:11:09 PM)

उपकुलपति डा. कोइरालालाई कारबाही गर्न माग

 काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई कारबाही गर्न नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले माग गरेका छन् ।

उपकुलपति कोइरालाले विश्वविद्यालयको ऐन, नियम, विधि तथा प्रचलित परम्पराको उल्लंघन गरेर अनियमितता गर्दै आएको आरोप लगाउँदै दुवै संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गरि कारबाही गर्न कुलपति तथा प्रधानमन्त्रीसमक्ष माग गरेका हुन् ।

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै पक्रेर बालुवाटारमा अपमानजनरुपमा थुनेको प्रकरण पश्चात उपकुलपति कोइराला यति बेला चर्चाको शिखरमा छन् । 

यो प्रकरणले प्राज्ञिक क्षेत्रको आलोचना भएको नेपाल प्रगतिशील संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनको ठहर छ ।

त्यसैगरि उपकुलपति कोइरालासहित संस्कृत भाषासँग असम्बन्धित व्यक्तिहरु सरकारलाई झुक्याएर ‘चोरबाटो’ हुँदै क्यानडा जान खोजेको सरकारी पक्षको दाबी छ ।

क्यानाडामा भएको सम्मेलनमा गएका अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने बौद्ध दर्शन, वाल्मिकी विद्यापीठका प्राचार्य गणेशप्रसाद घिमिरे नेपाली, प्राध्यापक संघका अध्यक्ष नवराज कट्टेल नेपाली, सहपाध्यापक लेखप्रसाद निरौला नेपाली, उपप्राध्यापक प्रेमराज न्यौपाने बौद्ध दर्शन र उपप्राध्यापक केशव कोइराला तन्त्र विषयसँग सम्बन्धित व्यक्ति हुन् ।

‘कुलपति भन्दा पनि अमुक राजनीतिक दलको कार्यकर्ता रहेको सार्वजनिक अभिव्यक्ति दिनु उपकुलपतिको पदको मर्यादा र गौरवलाई समेत चुनौती दिनु अराजकताको चरमोत्कर्ष हो,’ जारी विज्ञप्तिमा भनिएको छ। 

विश्व संस्कृत सम्मेलनमा जाँदा सामान्य प्रक्रियामा पनि पूरा नगरेकाले कोइराला माथि छानबिनसहित कारबाहीको माग गरिएको हो । ‘प्रक्रिया पूरा नगरेका कारण सम्मेलन जान नपाउनुमा उपकुलपति नै जिम्मेवार हुनुहुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयका रेक्टर, रजिस्टारलाई समेत थाहा नदिई शिक्षा मन्त्रालयमा बोधार्थका रुपमा भ्रमण स्वीकृतिको पत्र दर्ता गराएर उपकुलपति कोइराला कुलपति र सहकुलपतिसँग सम्पर्क्विहीन भएको उनी माथि आरोप छ ।