17th July | 2018 | Tuesday | 1:12:31 PM

स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन, बन्द–हड्ताल नगर्नू

हिमालय टाइम्स   POSTED ON : Friday, 13 July, 2018 (2:17:04 PM)

स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन, बन्द–हड्ताल नगर्नू

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीहरूलाई नियमित काम कारवाही गर्न निर्देशन दिएको छ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको मागप्रति सरकार उदासिन रहेको भन्दै आन्दोलन गरिरहेको समयमा सरकारले अहिले प्राकृतिक प्रकोप, बाढीपहिरो, सरुवा तथा संक्रामक रोगहरूले प्रभावित गर्ने समय भएको हुँदा देशभरका स्वास्थ्यकर्मीलाई बिदामा नबस्न तथा बन्द÷हड्ताल, घेराउ तथा प्रदर्शन नगर्न चेतावनी दिएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै ‘सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नियमितरूपमा कामकाज गर्न, बिदामा नछोड्न, बिनाअनुमति स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द–हड्ताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न÷नगराउन’ सम्बन्धित निकायमा अनुरोध गरेका हुन् । विज्ञप्तिमा नेपाल चिकित्सक संघको आन्दोलनलाई उल्लेख नगरिए पनि केही दिनयता संघले गर्दै आएको विरोध कार्यक्रम लक्षित गरी सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने उद्देश्य देखिन्छ । ‘उल्लिखित क्रियाकलापहरू गरे÷गराएको पाइएमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आदेशको बुँदा नं १२ र १३ मा अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स सेवाजस्ता सेवाहरू) र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवासमेत पर्ने भएकाले सोही ऐनको दफा ४ बमोजिम कारवाही गर्न मन्त्रालय बाध्य हुने भएकाले त्यस्तो परिस्थिति सिर्जना नगरिदिन हुन सम्बन्धित सबैमा अपिल गर्दछु,’ बुर्लाकोटीले विज्ञप्तिमा भनेका छन् ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग, पाँचवटै क्षेत्रीय स्वास्थ्य निर्देशनालयका साथै केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र सबै जिल्ला अस्पताललाई यस्तो निर्देशनात्मक आदेश दिएको हो । त्यसैगरी आयुर्वेद चिकित्सालय, अञ्चल आयुर्वेद औषधालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयहरू, प्राथमिक स्वास्थ्य केन्द्रहरू र सबै स्वास्थ्य चौकीलाई यस्तो आदेश दिइएको छ ।

चिकित्सक संघले आफ्ना आजीवन सदस्य डा. केसीले उठाएका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै हाल देशभरका स्वास्थ्य संस्थामा प्रत्येक दिन एक घन्टा कालोपट्टी बाँधेर धर्ना, ¥याली लगायतका कार्यक्रम गर्दै आएको छ ।