22nd August | 2018 | Wednesday | 1:32:22 AM

‘इन्काउन्टर फेक होइन’: अपराध महाशाखा, इन्काउन्टर छानबिन हुन्छ : गृहमन्त्री

हिमालय टाइम्स   POSTED ON : Thursday, 09 August, 2018 (6:34:01 PM)

‘इन्काउन्टर फेक होइन’: अपराध महाशाखा, इन्काउन्टर छानबिन हुन्छ : गृहमन्त्री

 काठमाडौं । बालक निशान खड्का अपहरणकारी इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई विहीबार औपचारिक ब्रिफिङ गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेको हो । गृहस्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटनाबारे बताएका हुन् । भेटमा उनले ‘बाहिर प्रचार गरिएको जस्तो भक्तपुर घटना फेक नभएको’, बताए ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्काको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

इन्काउन्टर घटनाबारे सरकारले छानबिन गर्ने बताइरहेका बेला प्रहरीले गृहलाई घटनाबारे विफ्रिङ गरेको हो ।  बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाए ।

समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानविनको प्रतिवद्धता जनाएका हुन् । इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरीसमेत दिएका छन् ।

प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ । प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरूको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ ।

प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ।