22nd August | 2018 | Wednesday | 1:33:50 AM

गैरकानुनी काम गर्नेलाई हत्कडी लगाउनु स्वाभाविक : गृहमन्त्री

हिमालय टाइम्स   POSTED ON : Saturday, 11 August, 2018 (3:20:37 PM)

गैरकानुनी काम गर्नेलाई हत्कडी लगाउनु स्वाभाविक : गृहमन्त्री

हिमालय टाइम्स

काठमाडौं । पूर्वमन्त्री तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेपछि उनको पक्षमा नेकपाकै ठूलो संख्याका कार्यकर्ता लागेको पाइएको छ । उनीहरूले सामाजिक सञ्जालमा अहिलेका गृहमन्त्री रामबहादुर थापासँगै आन्दोलन गरेका नेतालाई अहिले पक्राउ गर्नु गलत भएको भन्दै गृहमन्त्रीको नै आलोचना गरिरहेका छन् । यद्यपि गृहमन्त्रीले भने गैरकानुनी काम गर्नेलाई पक्रेर हत्कडी लगाउनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । 

तत्कालीन माओवादी केन्द्र मातहतको वाईसीएलका नेताहरूले पनि विश्वकर्मालाई पक्राउ गर्नुभन्दा पनि वार्ताबाट समस्याको समाधान गर्नुपर्ने धारणा राखेका छन् । यस्तै नेकपा मालेका अध्यक्ष चन्द्रप्रकाश मैनालीले पनि वक्तव्य नै जारी गरेर रिहा गर्न माग गरेका छन् । विश्वकर्मालाई प्रहरीले गत मंगलबार साँझ पक्राउ गरेकोमा बुधबार अदालत लगेर पाँचदिन थुनामा राख्न अनुमति लिएको थियो । उनलाई जथाभावी चन्दा असुली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

मुलुकको शान्ति सुरक्षा खल्बल्याउने गतिविधि गरेको भन्दै पछिल्लो समय प्रहरीले नेकपाका नेता, कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको थियो । सोही क्रममा हेटौंडातिरबाट काठमाडौं आउँदै गर्दा पूर्वमन्त्री विश्वकर्मासहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य छन् । अदालतले तीनैजनालाई पाँचदिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आफ्नै कार्यकर्ताले सो पक्राउ प्रकरणको आलोचना गरिरहेका बेलामा शुक्रबार गृहनगर चितवन पुगेका गृहमन्त्री थापालाई भरतपुर विमानस्थलमा ‘तपाईं गृहमन्त्री हुँदा तपाईंकै साथी खड्कबहादुर विश्वकर्मालाई हत्कडी किन ? भन्ने प्रश्न पत्रकारले राखेका थिए । उनको जवाफ थियो, ‘म गृहमन्त्री हो, समातिएको व्यक्ति कानुन उल्लंघन गर्ने आरोपित हुन् । आरोपितलाई हत्कडी स्वभाविक नै हो ।’

विश्वकर्माले कानुन उल्लंघन गरेर ध्वंस मच्चाएको र चन्दा असुली गरेका कारण वान्टेड भएकाले पक्राउ गरिएको गृहमन्त्री थापाले बताए । विश्वकर्माको पार्टीलाई वार्तामा आउन आफूले संसदबाटै आहृवान गरेपनि अरू ठोस काम नभएको उनले जनाए । उनको भनाइ थियो, ‘वार्ताका लागि खुला नै छौं । प्रशासनिक रूपमा पनि हामी अगाडि बढ्छौं । कानुनविपरीत चल्ने जो सुकै होस् समातिन्छन् । कारबाही हुन्छ,’ गृहमन्त्री थापाले भने । उनले हालै काठमाडौंमा अपहरणकारीको मुठभेडमै मृत्यु भएको र ‘फेक इन्काउटर’ भनेर हल्लामात्रै फैलाइएको दाबी गरे । उनले भक्तपुर घटनामा अपहरणकारीलाई २४ घण्टामा निस्तेज पार्न सरकार सफल भएको दाबी गरे । 

मंगलबार पक्राउ परेका विश्वकर्मामाथि विभिन्न उद्योगपति, व्यवसायीलगायतबाट ७ करोड रुपैयाँभन्दा बढी चन्दा असुल गरेको आरोप प्रहरीले लगाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरुद्ध चन्दा ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । परिसरले विभिन्न व्यवसायीलाई धम्क्याएर चन्दा असुलेका कारण विश्वकर्मासहितका तीनजनालाई पक्राउ गरिएको दाबी गर्दै आएको छ । प्रारम्भिक अनुसन्धानमै उनीहरूले ७ करोड रुपैयाँ अवैध रूपमा चन्दा असुल गरेको पाइएको प्रहरीको दाबी छ । विश्वकर्माले भने सरकार प्रतिक्रान्तिको बाटोमा अघि बढेको आरोप लगाएका छन् । 

उनी २०५२ सालमै माओवादीको पूर्णकालीन सदस्यका रूपमा ‘जनयुद्ध’मा सामेल भएका थिए । झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ फागुनमा उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । मोहन वैद्यको नेतृत्वमा माओवादी विभाजनपछि उनी वैद्य समूहतिर लागेका थिए भने उक्त समूह पनि विभाजित भएपछि उनी विप्लवको समूहमा रहँदै हाल पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

उनको पक्राउको विरोधमा नेकपा माओवादीका महासचिव विप्लवले जारी गरेको वक्तव्यअनुसार शुक्रबार कोणसभा गरेर सरकारको आलोचना गरिएको सो पार्टीले जनाएको छ । यसैगरी शनिबार विरोधसभा गरिने र २७ गते भण्डाफोरको कार्यक्रम राखिएको छ । सो पार्टीले २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्दको आहृवान गरेको छ । माओवादीको अर्को घटकका नेता मोहन वैद्यले विश्वकर्मालाई रिहाइको माग गरिसकेका छन् ।