11th December | 2018 | Tuesday | 7:35:46 PM

‘रेलिगेसनविनाको लिगमा पुनर्विचार हुँदैन’

हिमालय टाइम्स   POSTED ON : Saturday, 11 August, 2018 (3:59:39 PM)

‘रेलिगेसनविनाको लिगमा पुनर्विचार हुँदैन’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनविनाको लिगका लागि प्रक्रिया अघि बढिसकेको भन्दै अब त्यसमा पुनर्विचार नहुने प्रष्ट पारेको छ । एन्फाको सूचना कमिटीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

‘नेपालमा फुटबल गतिविधि शून्य रहेको अवस्थामा यसपटक रेलिगेसनविनाको लिग गर्न हामी बाध्य बनेका हौंँ,’ पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरण राईले भने, ‘यसबारेमा हामीले फिफा र एएफसीसँग पनि कुरा गरिसकेका छौँ ।’ उनले लिगका लागि क्लबहरू पनि खेल्न सहमत भइसकेको जानकारी दिए । ‘हामी लिगको मर्मलाई मर्न दिदैनौं,’ उनले भने, ‘यसबारे हामीले अध्ययन गरिरहेका छौँ ।’ नेपालमा फुटबल नभइरहेको अवस्थामा रेलिगेसनविनाको लिगको सुरुवातलाई सकारात्मक पाटोका रुपमा लिनुपर्ने उनको भनाइ थियो । प्रवक्ता राईले राष्ट्रिय टिमका पूर्वप्रशिक्षक राजुकाजी शाक्य र एन्फाबीचको छलफल सकारात्मक रहेको बताए । शाक्यलाई हालै एन्फाले जिम्मेवारीबाट हटाएको थियो । जानकारीविना नै राष्ट्रिय टिमको प्रशिक्षकबाट हटाइएको भन्दै शाक्यका तर्फबाट विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि एन्फा र शाक्यबीच शुक्रबार छलफल भएको थियो ।‘हामीले प्रतिशोध साँधेर हटाएका होइनौं,’ प्रवक्ता राईले भने, ‘जिम्मेवारी हेरफेर मात्रै भएको हो । एन्फामा नयाँ नेतृत्व आएपछि हामीबीच कम्युनिकेसन ग्याप भएकै हो ।’ उनले शाक्य र एन्फाबीचको छलफल सकारात्मक भएको भन्दै शाक्यलाई कुनै न कुनै जिम्मेवारीमा दिइने प्रष्ट पारे ।


Views: 21