17th December | 2018 | Monday | 5:35:26 PM

सरकारबाटै संविधान उल्लंघन : कांग्रेस

हिमालय टाइम्स   POSTED ON : Thursday, 20 September, 2018 (2:29:44 PM)

सरकारबाटै संविधान उल्लंघन : कांग्रेस

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार संविधान कार्यान्वयनमा चुकेको र संघीयतालाई अलोकप्रिय बनाउन उद्यत रहेको आरोप लगाएको छ । संविधान पालनामा सरकार नै गम्भीर नदेखिएको कांग्रेसको आरोप छ । संविधान दिवसका दिन बुधबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको धारा ९१ को उपधारा (२) सरकारले उल्लंघन गरेको आरोप लगाए । संविधान उल्लंघन गर्दै सरकार नै संविधान पालनामा प्रतिबद्ध नरहेको जनाउ दिइसकेको उनको भनाइ थियो । संविधानको उक्त धारामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था छ । 

तीन तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनको ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यप्रति सरकार उदासीन भएको कांग्रेसको आरोप छ । ‘संघीयतासहितको संविधान बन्यो र निर्वाचनमार्फत प्रदेश सरकार गठन भयो तर संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेको छैन,’ प्रवक्ता शर्माले भने, ‘दुईवटा बाहेक अन्य प्रदेशको नामकरणसमेत हुन सकेको छैन ।’ 

प्रदेश राजधानीको अन्तिम टुंगो लगाउने विषयसमेत ओझेलमा परेको उनको भनाइ थियो ।

संविधानप्रति सबैको अपनत्व बढाउन सरकार चुकेको आरोपसमेत कांग्रेसले लगाएको छ । संविधानप्रति सबैमा अपनत्व विस्तार हुन नसकेकै कारण संविधान जारी भएको तेस्रो वर्ष पूरा हुँदासमेत केही दलले संविधान दिवस नमान्ने, कसैले कालो दिनका रूपमा मनाउने क्रम जारी रहेको कांग्रेसको ठहर छ । ‘संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरे पनि वर्तमान सरकारको नेतृत्वले अन्ततः संशोधन आवश्यक ठहर त ग¥यो तर सत्ताको बार्गेनिङ चिप्सका रूपमा प्रयोग गरेर अन्ततः त्यसलाई अघि बढाएन,’ प्रवक्ता शर्माले भने, ‘परिणाममा अपनत्व विस्तारको विषय अझै अधुरो छ ।’

सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत भइरहेको प्रस्ट पार्दै उनले यस्तो स्थिति बन्नु वर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने कांग्रेसको ठहर रहेको बताए । प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निषेधाज्ञा, टिभी प्रस्तोतालाई कारबाही, कयौं सरकारी समाचार संस्थाबाट पत्रकारको बिदाइ, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडीजस्ता उदाहरणले लोकतान्त्रिक प्रक्रियाबाट नयाँ सरकार बने पनि सरकार लोकतान्त्रिक चरित्रको बन्न नसकेको तथ्य पुष्टि गर्ने आधार रहेको उनले बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभाबी कर निर्धारणको स्वन्छन्दताले अन्ततः संघीयतालाई अलोकप्रिय बनाउने डिजाइनमा बल पुगेको ठहर पनि कांग्रेसको छ । संघीय सरकार र प्रदेश सरकारबीच सहज तादाम्य स्थापित नगरिएका कारण सार्वजनिक भेलाहरू मार्फत नै केन्द्र र प्रदेशबीचको द्वन्द्व प्रकट हुँदै गएको छ र त्यसले नकारात्मक प्रभाव बढाएको कांग्रेसले प्रस्ट पारेको छ ।

‘संविधान र सरकारसँग नागरिकको मुख्य अपेक्षा सदैव शान्ति सुरक्षा र समृद्धि हुन्छ,’ शर्माले भने, ‘शान्ति सुरक्षाको प्रभावकारी बन्दोबस्तले संविधानको सफलतालाई एकातर्फ सघाउँछ भने अर्कोतर्फ समृृद्धिको यात्रालाई बल पु¥याउँछ । यो सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै बिग्रिएर गएको छ र सरकार सबैभन्दा बढी असफल यो प्रकरणमा भएको छ ।’

निर्मला पन्तको बलात्कार र हत्या प्रकरण अनेक कोणबाट कालो धब्बा बन्न पुगेको शर्माले बताए । ‘दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने,’ शर्माले प्रश्न गरे, ‘निर्मलालाई न्याय भन्ने नाराका साथ देशको १९ स्थानमा जनप्रदर्शन भइरहेकै दिन सम्माननीय प्रधानमन्त्रीको कार्यकर्तालाई अरिंगालझैं जाइलाग्न भड्काउयुक्त भाषणको सन्देश के हो ?’ 

शान्ति सुरक्षा फितलो बन्दै गएको, अपराधीलाई कारबाही हुन नसकेकोजस्ता कारणले न्याय माग्न सर्वसाधारण सडकमा उत्रिनु परेको उनको भनाइ थियो । सरकारले दोषीमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्नेमा प्रधानमन्त्रीले नै अरिंगालझैं जाइलाग्न कार्यकर्तालाई निर्देशन दिनु गैरजिम्मेवार कार्य भएको उनले आरोप लगाए । उनले प्रश्न गरे, ‘यो शैलीले के शान्ति सुरक्षालाई बढावा दिन्छ ? के यही प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ ?’


Views: 77