17th December | 2018 | Monday | 5:18:49 PM

यी हुन् नेकपाका विवादित अजेन्डा, छलफल भोलि

हिमालय टाइम्स   POSTED ON : Tuesday, 09 October, 2018 (2:09:41 PM)

यी हुन् नेकपाका विवादित अजेन्डा, छलफल भोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार स्थगित बैठक सोमबार बिहान भयो तर पार्टीमा उत्पन्न विवादका विषयमा छलफल भएन । अर्को बैठक बुधबार बस्ने भएको छ । 

सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठकले अर्को बैठकको अजेन्डा तय गरेको छ । पार्टीमा उत्पन्न विवाद र एकता प्रक्रियाबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन सचिवालय तयार भएको पनि खनालले जानकारी दिएका छन् । 

थोरै समय बसेको सोमबारको बैठकमा स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको जनाइएको छ । केन्द्रीय कमिटीका कार्यविभाजन, पार्टीका तल्ला तहहरूको एकीकरण र जनवर्गीय संगठनहरूको एकीकरणका  विषयमा छलफल गर्ने अजेन्डा तय भएको जनाएको छ । यसैगरी पार्टी र सरकारबीच समन्वयको विषयमा पनि अर्को बैठकमा छलफल हुनेछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्र संघीय महासभामा गरेको सम्बोधन र कोस्टारिका भ्रमणका विषयमा जानकारी गराएको जनाइएको छ । यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आआफ्ना विदेश भ्रमणको जानकारी गराए । दाहालले केही दिनअघि चीनको भ्रमण गरेका थिए । नेपालले घाना र चीनको भ्रमण गरेका थिए भने श्रेष्ठ पनि चीन गएका थिए । 

वरिष्ठ नेता नेपालले पार्टीको निर्णय प्रक्रिया र प्रदेशमा पार्टीको जिम्मेवारी बाँडफाँटमा प्रकट गरेको असन्तुष्टि र प्रतिनिधिसभा बैठकमा सरकारको आलोचना गरेको विषयमा भने केही छलफल भएन । नेता नेपालले आफ्नो असन्तुष्टि लिखितरूपमा सचिवालयमा बुझाएको जनाइएको छ । यस सम्बन्धमा बुधबारको बैठकमा छलफल हुनेछ । 


Views: 99