17th December | 2018 | Monday | 5:35:23 PM

कांग्रेसको निष्कर्ष : सरकार शान्ति सुरक्षा र महँगी नियन्त्रणमा असफल

हिमालय टाइम्स   POSTED ON : Tuesday, 09 October, 2018 (3:08:40 PM)

कांग्रेसको निष्कर्ष : सरकार शान्ति सुरक्षा र महँगी नियन्त्रणमा असफल

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न र महँगी नियन्त्रण गर्न असफल भएको निष्कर्ष निकालेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारलाई सचेत गराउने निर्णय गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । 

कांग्रेस बैठकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै सरकार असंवेदनशील र असक्षम प्रमाणित भएको ठहर गरेको छ । कांग्रेसले भनेको छ, ‘शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारको अकर्मण्यताले अपराधको साम्राज्य विस्तार हुँदैछ ।’ कांग्रेसले सरकारलाई जिम्मेवारीप्रति गम्भीर बन्न सचेत गराएको छ । 

चाडपर्वको मुखमा उपभोग्य वस्तुहरूको मूल्यमा अचाक्ली वृद्धि भएको भन्दै कांग्रेसले सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले दशैंमा गाडी भाडा बढाएको आरोप लगाएको छ ।

वाइड बडी जहाज खरिद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको भन्ने विवरणहरू सार्वजनिक भएको भन्दै घोटाला छानबिन गरी जनसमक्ष सार्वजनिक गर्न पनि कांग्रेसले माग गरेको छ । 

कांग्रेसले बुढीगण्डकी जलविद्युत परियोजना गेजुवा कम्पनीलाई दिने निर्णयको विरोध गरेको छ । स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर गरी अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवालाई सुम्पने निर्णय गरेको भन्दै कांग्रेसले उक्त निर्णय अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक भनेको छ । 

कांग्रेसले उक्त निर्णयमा गलन मनसाय रहेको अरोप पनि लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यससम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन् । तर कुनै प्रक्रिया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैँले बनाउन सक्ने परियोजना अरूलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ ।’

कांग्रेसले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाउन ढिलो गर्नु नहुने ठहर गरेको छ तर विमानस्थलका लागि आवश्यक पर्ने जग्गाभन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावमा विमति जनाएको छ । कांग्रेसले निजगढमा विमानस्थल बनाउने निर्णयलाई ‘एक दशक पुरानो हाम्रो संकल्प’ र ‘राष्ट्रिय गौरवको सपना’ भन्दै सफल कार्यान्वयन गर्न जरुरी छ भनेको छ । 

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रियरूपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न सरकारलाई अपिल गरेको छ । 

कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकामा राजधानी राख्न गरेको निर्णयको विरोध गरेको छ । भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थानमा राजधानी राख्ने निर्णय अपरिपक्व, विकास विरोधी, गैरजिम्मेवार र भू तथा वन माफियाहरूको चलखेलबाट प्रभावित रहेको कांग्रेसको ठहर छ । उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अर्बौं लगानी हुने र विकास निर्माणका सम्पूर्ण काम ठप्प हुने निष्कर्ष कांग्रेसको छ । वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरूको राय कांग्रेसले स्मरण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चुरेको फेदीमा अवस्थित उक्त क्षेत्रमा सहर निर्माण गर्ने, भौतिक पूर्वाधार खडा गर्ने कार्यले प्राकृतिक प्रकोप बढ्न जाने र तल्लो तटीय क्षेत्रमा बाढी, भूक्षय लगायत मरुभूमीकरणको समस्या बढ्ने जोखिम छ ।’ उक्त निर्णय पुनर्विचार गर्न कांग्रेसले माग गरेको छ । 

नेविसंघमा उमेरहद ३२ वर्ष 

बैठकले नेपाल विद्यार्थी संघको सदस्य बन्ने उमेरको हद ३२ वर्ष हुने निर्णय गरेको छ । उमेरबारे नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको प्रावधानलाई यथावत राख्ने निर्णय भएको जनाइएको छ । नेपाल विद्यार्थी संघसम्बन्धी अन्य निर्णय बिहीबार बस्ने बैठकले गर्ने जनाइएको छ । 


Views: 93