17th October | 2018 | Wednesday | 10:00:24 PM

रामवीर मानन्धर ठाउँ छाड्न तयार

हिमालय टाइम्स   POSTED ON : Wednesday, 10 October, 2018 (3:11:27 PM)

रामवीर मानन्धर ठाउँ छाड्न तयार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको शक्ति संघर्षको परिणामस्वरूप मुलुकले उपनिर्वाचनको भार झेल्नुपर्ने अवस्था निम्तिदैंछ । नेकपाका नेता वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने सम्भावना देखिएको छ । 

उक्त क्षेत्रबाट निर्वाचित नेकपाकै सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर गौतमका लागि मैदान खाली गराउने तयारी भएको हो । गौतम गत निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । उनले आफ्नो पराजयलाई देशी–विदेशीको षड्यन्त्र भन्दै आएका छन् । 

सांसद मानन्धरले नेता गौतमका लागि आफूले ‘त्याग’ गर्ने बताए । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी एकतामा गौतमको महŒवपूर्ण भूमिका रहेको र त्यस्तो नेता प्रतिनिधिसभामा पुग्न आवश्यक रहेको बताए । ‘त्यस्ता नेताहरू संसद्मा उपस्थित भए भने हाम्रो लागि गौरवको कुरा हुन्छ,’ उनले भने, ‘विकास निर्माण तीव्र हुन्छ ।’ उनले वामदेव गौतम अचानक राजनीतिमा आएको व्यक्ति नभएको जिकिर पनि गरे । ‘उहाँको लामो इतिहास छ, पार्टीमा लामो समय काम गर्नुभएको छ,’ तुलनात्मकरूपमा आफूभन्दा निकै अनुभवी र पाको नेता भएका कारण सम्मानस्वरूप आफूले गौतमका लागि राजीनामा दिन लागेको उनको भनाइ थियो ।

मानन्धरले पार्टीसमक्ष राजीनामाका लागि आफूले निवेदन दिइसकेको जानकारीसमेत दिए । पार्टी सचिवालय बैठकले आफ्नो राजीनामाबारे अन्तिम निर्णय गरेपछि थप प्रक्रिया अघि बढाउने उनले बताए । ‘सचिवालयले स्वीकृत गरेमा सांसद पदबाट विधिवत राजीनामा दिन्छु,’ उनले भने । 

मानन्धरले सचिवालय बैठकले आफ्नो राजीनामाबारे गर्ने निर्णय मान्य हुने बताइरहँदा बुधबार बस्ने कार्यतालिका रहेको बैठक अचानक असोज २७ गतेका लागि सारिएको छ । उपनिर्वाचनका बारेमा छलफल हुने र काठमाडौं–७ का बारेमा निर्णय लिनुपर्ने भएका कारण आन्तरिक तयारीका लागि बैठक सारिएको स्रोतको भनाइ छ । 

आफ्नो राजीनामाले काठमाडौं–७ का मतदातामाथि विश्वासघात नहुने पनि मानन्धरले बताए । उनले जनताको एउटैमात्र अपेक्षा ‘विकास’ रहेको बताए । पार्टीकै नेतृत्वमा संघीय सरकार रहेको, प्रदेश सरकार पनि आफ्नै पार्टीको नेतृत्वमा रहेको र पार्टीकै एक सम्मानित नेताका लागि आफूले व्यवस्थापनमा सघाउँदा विकास निर्माणका काम अझ प्रभावकारीरूपमा अघि बढ्ने उनको भनाइ छ । 

उनले राजीनामामा आफ्नो कुनै सर्त नरहेको प्रस्ट पारे । ‘पार्टीले नै सुरुमा वडा अध्यक्ष बनाएको हो, त्यसपछि दुई पटक सांसद बनाएको हो’, उनले भने, ‘मेरो सर्त के नै हुन्छ र ? पार्टीले गरेका निर्णय मान्न तयार छु ।’ पार्टीले राष्ट्रियसभामा लगे आफू जान तयार रहेको र मन्त्री बनाए पनि बन्न तयार रहेको बताउँदै उनले घुमाउरो शैलीले आफ्नो राजनीतिक भविष्य सुनिश्चित रहेको संकेत गरे ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी विक्रम थापालाई ८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । राप्रपाका उम्मेदवार थापालाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । बर्दिया–१ मा गौतम भने नेपाली कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतान्तरले पराजित भएका थिए ।

गौतमको महŒवाकांक्षा

पार्टी एकताका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेका नेकपा नेता गौतमलाई यतिबेला नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलको दह्रो साथ छ । ती साथ कति भरपर्दो हुन सक्छन् भन्ने प्रश्नलाई थाँती राख्ने हो भने दुवै नेताको समर्थनमा पार्टीको समीकरणमा निर्णायक फेरबदल गरेर आफू प्रधानमन्त्री बन्न सक्ने गौतमको ठहर छ ।

पार्टीको एकता महाधिवेशनमा दाहाललाई अध्यक्ष, पौडेललाई महासचिव बनाएर आफू प्रधानमन्त्रीको दाबेदार बन्ने उनको महŒवाकांक्षा पूरा होला या नहोला भन्ने प्रश्नले भविष्यमा जवाफ पाउने नै छ तर मुलुक र जनताले कसैको व्यक्तिगत वा गुटगत महŒवाकांक्षाका लागि अनावश्यक रूपमा एउटा उपनिर्वाचनको भार बेहोर्नुपर्ने राजनीतिक विश्लेषक बताउँछन् ।

निर्वाचनमा पराजित भएको महिनादिन नपुग्दै गौतमले प्रतिनिधिसभामा प्रवेश गर्न विकल्पहरू खोज्न थालिसकेको थिए । त्यसयता उनले विभिन्न जिल्लामा सिट खाली गराउनका लागि प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

दाहाल–गौतम रणनीति

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकतापछि पार्टीगतरूपमा अर्का अध्यक्ष केपीकै हाराहारीमा कार्यकारी भूमिकामा रहे पनि यथास्थितिमा लामो समय आफ्नो पद सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । तत्कालीन एनेकपा माओवादीले पार्टी एकतामा पाएको भागवण्डाकै आधारमा आफू नेकपाभित्र बहुमतले कार्यकारी भूमिकामा पुग्न सकिएला भन्ने तथ्यलाई दाहालले राम्ररी बुझेका छन् । त्यसैले उनी वामदेव गौतम, माधवकुमार नेपाल लगायत शक्ति सन्तुलनका हिसाबले महŒवपूर्ण मानिएका नेताहरूसँग सम्बन्ध बिगार्न चाहँदैनन् ।

दाहालले गौतमलाई प्रतिनिधिसभामा प्रवेश गराएर प्रधानमन्त्री बनाउने आफूले पार्टीको एकलौटी नेतृत्व गर्ने सोच बनाएको स्रोत बताउँछ । सोहीअनुसार गौतमलाई सांसद बनाउन दाहालले हरसम्भव प्रयास गर्दै आएका छन् । दाहाल र गौतमको उद्देश्यलाई महासचिव पौडेलले पनि साथ दिइरहेका छन् । नेकपा अध्यक्ष ओली भने गौतमका लागि उपनिर्वाचन गराउन इच्छुक नरहेको स्रोत बताउँछ । पार्टीभित्र गौतमका लागि बढ्दो दबाब व्यवस्थापन गर्नका लागि उनी उचित समयको प्रतीक्षामा रहेको निकट स्रोतको भनाइ छ । 


Views: 51