16th December | 2018 | Sunday | 11:59:55 PM

कांग्रेसमा खटपट चर्किंदै

हिमालय टाइम्स   POSTED ON : Wednesday, 10 October, 2018 (3:16:24 PM)

कांग्रेसमा खटपट चर्किंदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य हुन ३२ वर्र्षे उमेरको हद तय गरेपछि विवाद चर्किएको छ । सो पार्टीका नेता तथा कार्यकर्ताहरू त्यसको पक्ष र विपक्षमा विभाजित भएका छन् । यसरी उमेरहद तोक्नुले कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई पेल्न खोजेको रूपमा अन्य नेताहरूले लिएको पाइएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डाकिएको भएपनि केही नेताहरू असन्तुष्टि प्रकट गर्दै बहिष्कार गर्ने तयारीमा लागेका छन् । 

बैठक बहिष्कार गर्न नहुने बरु पार्टीभित्रै असन्तुष्टि कडा रूपमा राख्नुपर्छ भन्नेको संख्या पनि यथेष्ट रहेको पाइएको छ । कांग्रेसका एक नेताले भने, ‘बहिष्कार गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।’ नेविसंघको आंशिक विधान संशोधनमा संस्थापन पक्षले बलजप्mती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही ढंगले जाने देखिएकाले बैठक बहिष्कार गर्नुपर्ने केही नेताको तर्क रहेको छ । पार्टी सभापति देउवा विरोधी नेताले उमेरहद नै कायम गर्ने हो भने नेविसंघमा मात्रै होइन, नेपाली कांग्रेसमा पनि लागु गर्नुपर्ने भन्ने तर्क गर्न थालेका छन् । उनीहरूले उमेरको हद कांग्रेसमा ७० वर्षको हुनुपर्ने तर्क गरिरहेका छन् । ७० वर्ष देउवाले नै नाघी सकेका छन् । कांग्रेसको बैठक बहिष्कार गर्ने संकेत गर्दै नेता कृष्णप्रसाद सिटौला भने मंगलबार मात्रै विराटनगर गएका छन् । 

महँगीविरुद्ध उत्रिँदै

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को मूल्यवृद्धिको विषयमा सरकारका विरुद्ध देशव्यापी रूपमा चर्कोसँग प्रस्तुत हुने संकेत दिएको छ । सो पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका सबै जिल्ला शाखाहरूलाई सर्कुलर गरी यही असोज २८ गते सबै जिल्ला प्रशासन कार्यालयलाई महँगीको विरोधमा ज्ञापनपत्र बुझाउन सर्कुलर गरेका छन् । 

सर्कुलरमा अहिलेको बजारभाउ र एक वर्षअघिको बजार भाउलाई तुलनात्मक रूपमा राखेर ज्ञापनपत्र बनाउन आग्रह गरिएको छ । यसैगरी दशैंको कोजाग्रत पूर्णिमाको दिन राष्ट्रिय मेलमिलाप दिवस र चियापान कार्यक्रम जिल्ला स्तरमा पनि गर्न आग्रह गरेका छन् । 

 


Views: 72