17th October | 2018 | Wednesday | 9:34:48 PM

वामदेवबारे नेकपामा बहस : आन्तरिक शक्ति संघर्ष बढ्दो, दुई अध्यक्ष दुईतिर ¤

हिमालय टाइम्स   POSTED ON : Thursday, 11 October, 2018 (2:13:25 PM)

वामदेवबारे नेकपामा बहस : आन्तरिक शक्ति संघर्ष बढ्दो, दुई अध्यक्ष दुईतिर ¤

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी नेता वामदेव गौतमलाई सांसद बनाउन उपनिर्वाचन गराउनेसम्मको तयारी भएपछि बहसहरू सतहमा आएका छन् । उपनिर्वाचनको पक्ष–विपक्षमा नेताहरू सार्वजनिक रूपमै बहसमा उत्रिएका हुन् । एक पक्षले पार्टीका लागि लामो संघर्ष गरेको गौतमजस्तो नेतालाई प्रतिनिधिसभामा लैजान उपनिर्वाचन गराउनुलाई अन्यथा लिन नहुने तर्क गरिरहे पनि अर्को पक्षले यसबाट पार्टीको प्रतिष्ठा र जनताको विश्वास स्खलित हुने तर्क गरिरहेका छन् । जनताले पराजित गरिसकेका नेतालाई फेरि अर्को बाटो अपनाएर सांसद बनाउन खोज्नु जनताप्रतिकै बेइमानी हुने उनीहरूको तर्क छ । कतिपयले त नामै किटेर नारायणकाजी श्रेष्ठ जस्ता नेता पनि पराजित भएको भन्दै एउटा नेतालाई उपनिर्वाचन गराएर सांसद बनाउने प्रयास हुँदा श्रेष्ठजस्ता अन्य नेताहरूलाई किन बेवास्ता गर्ने भन्नेसम्मका सवाल खडा गरेका छन् । बुधबार सामाजिक सञ्जालमा नेकपाका नेता–कार्यकर्ताहरू यस्तै विषयमा बहस गर्न व्यस्त देखिए । 

यसै विषयमा बुधबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । अध्यक्ष दाहालले नै छलफलको पुष्टि गरेका हुन् । उनका अनुसार अहिले छलफलकै क्रममा रहेको यो विषयमा केही दिनमै पार्टीले ठोस निर्णय लिने छ । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले काठमाडौं–७ मा नेकपाले सिट गुमाउने गरी चुनाव नगराउने बताए । ‘पार्टीले निर्णय गर्न त बाँकी नै छ, तर म केमात्रै भन्न सक्छु भने हाम्रो सिट गुम्नेगरी चुनाव हुँदैन,’ दाहालले भने ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वयं यो विषय यतिबेला किन उठाइएको हो भन्नेमा गम्भीर परामर्श गरिरहेका छन् । उनले वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउन भइरहेका प्रयासका पछाडि लुकेका राजनीतिक उद्देश्यहरूमाथि आफ्ना निकटस्थमार्फत खोजीनीति सुरु गरेका हुन् । सोही प्रयोजनका लागि उनले बुधबारका लागि बोलाइएको सचिवालय बैठकसमेत आगामी शनिबारसम्मका लागि सारेका छन् । ओली निकट एक नेताले ‘पर्दा पछाडि भइरहेका खेललाई बुझेर सके प्रक्रियागत रूपमा सुल्झाउने, नसके पर्दा पछाडिबाटै सामना गर्ने’ तयारी भइरहेको बताए । यस्तो प्रक्रियाको विस्तृत विवरण भने उनले खुलाएनन् । ‘हेर्दै जानुस् न, के के हुन्छ ¤’ उनले भने । 

काठमाडौं–७ का सांसद रामवीर मानन्धरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टीका नेता वामदेव गौतमलाई संसद्मा ल्याउनका लागि आफू राजीनामा दिन तयार रहेको घोषणा गरेपछि नेकपाभित्रको बहस छताछुल्ल भएको हो । यसअघि गौतमले भित्रभित्रै विभिन्न सांसदसँग राजीनामाका लागि प्रस्ताव गरे पनि उनीहरूले प्रस्ताव अस्वीकार गर्दै आएका थिए । तर सांसद मानन्धरले गौतमका लागि आफू राजीनामा दिन तयार रहेको बताएपछि भने पार्टीमा यस विषयमाथि गम्भीर बहस सुरु भएको हो ।

नेकपाका प्रभावशाली नेता तथा सुदूरपश्चिम प्रदेशका कमान्डर भीम रावलले एउटा सांसदलाई राजीनामा गराएर कसैका लागि उपनिर्वाचन गराउने निर्णय आवेगमा नलिन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले ट्विटरमार्फत आफ्नो संक्षिप्त प्रतिक्रिया राख्दै भनेका छन्, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे स्थायी कमिटीमा छलफल आवश्यक छ, राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफलविना निहित स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’

रक्षामन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेल पनि उपनिर्वाचनको विपक्षमा उभिएका छन् । स्रोतका अनुसार उनले सचिवालय बैठकमै काठमाडौं–७ का सांसद मानन्धरले राजीनामा दिने आशयको पत्र नेता गौतममार्फत पेस हुँदा विरोध गरेका थिए । यस विषयमा पछि छलफल हुने बताइएपछि तत्काल शान्त रहेका पोखरेलले फेसबुक पेजमा घुमाउरो शैलीमा उपनिर्वाचनसम्बन्धी तानाबुनाको विरोध गरेका छन् । उनले आफूहरू ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित नरहेको तथा देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसँग कुनै गोप्य साँठगाँठ नगरेको जिकिर गर्दै विकसित राजनीतिक घटनाक्रम र तिनका उद्देश्यलाई गम्भीर आशंकाको दायरामा राखेका छन् । ‘हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयंले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरुरी छ,’ उनले लेखेका छन्, ‘प्राप्त भएको उचाइसँगै चुनौतीहरू पनि प्रकट हुन सक्छन् भन्ने कुरालाई यतिबेला हेक्का राख्नु जरुरी छ ।’ 

यसैबीच पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई लोकतन्त्रलाई दलीय स्वार्थमा प्रयोग गरिनु अनुचित भएको बताउँछन् । उनले ट्विट गर्दै उपनिर्वाचन गराउने सत्तारुढ दलको खेलप्रति आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘काठमाडौं–७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसद्मा पु¥याउनकै लागि अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो ।’ उनले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्न पनि अपिल गरेका छन् ।

नेकपाकै कार्यकर्तापंक्ति भने अहिले उपनिर्वाचनको विषय उठाउन उपयुक्त समय नभएको तर्क गरिरहेका छन् । खास नेतासँग निकट रहेका बाहेकका कार्यकर्ताहरू देशमा महँगी बढेको, विभिन्न अपराधमा संलग्नहरूमाथि कारवाही गर्न नसकिरहेको, सरकारले वाचा गरेका कतिपय काम हुन नसकेको अवस्थामा उपनिर्वाचनमा जानु भनेको ‘आत्मघाती’ हुने बताउँदैछन् ।


Views: 91