16th December | 2018 | Sunday | 5:46:11 PM

कड्किए महानिरीक्षक खनाल– ‘कमाउने भए जागिर छाडेर जानू’

हिमालय टाइम्स   POSTED ON : Thursday, 11 October, 2018 (2:19:01 PM)

कड्किए महानिरीक्षक खनाल– ‘कमाउने भए जागिर छाडेर जानू’

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले संगठनकै गरिमामा आँच आउने गरी गलत काम गर्ने प्रहरी अधिकृतलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । उनले प्रहरी सदैव जनताको सेवामा समर्पित हुनुपर्ने भन्दै प्रहरी सेवाभित्र रहेर कसैले कमाउने सोच पालेको भए जागिर छाडेर अन्य पेसामा लाग्न सुझावसमेत दिए । समाज र संगठनभित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण सिंगो संगठनकै गरिमामा ‘गम्भीर चोट’ पुगेको भन्दै उनले त्यस्ता प्रहरीलाई बर्खास्त गरिने बताए ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व इमानदार र निष्ठापूर्वक पूरा गर्न सम्पूर्ण प्रहरी अधिकारीलाई निर्देशनसमेत दिए । जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती र त्रुटिहरूले पनि समग्र संगठनमाथि नै लाञ्छना लाग्ने हुँदा राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भीरतापूर्वक बहन गर्दै सबै प्रहरी कर्मचारीले इमान्दार भएर निष्ठापूर्वक र दृढतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो ।

संगठनभित्र रहेर अनियमितता गर्ने, पदीय हैसियत बिर्सेर काम गर्ने प्रत्येक प्रहरी कर्मचारी कारबाहीको भागिदार हुनुपर्ने उनले बताए । उनले त्यस्ता प्रहरी कर्मचारी सिंगो संगठनका लागि ‘धमिरा’ भएको उल्लेख गर्दै भने, ‘कारबाहीको सुरुवात भइसकेको छ, संगठनलाई नै बदनाम गर्ने त्यस्ता धमिरालाई कदापि छाडिने छैन ।’

उनले प्रहरी सेवामा रहेर कसैलाई आर्थिक लाभ गर्ने लालसा जागेको भए जागिर छाडेर जान सुझावसमेत दिए । ‘विदेश जाने, दलाली गर्ने, तस्करी गर्ने, धम्क्याएर असुल्ने कसैले सोचेको छ भने जागिर छाड्दा हुन्छ,’ उनले भने, ‘प्रहरीको जागिर खाएर त्यस्ता काम गर्ने छुट कसैले पाउँदैन ।’ उनले प्रहरी कर्मचारीलाई आफ्नो आचरण र कार्यशैली आफैं सुधार्न सुझावसमेत दिए । 

बुधबार महानिरीक्षक खनालले महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्नुका साथै उपत्यकाका तीन जिल्लाको ट्राफिक व्यवस्थापन चुस्त बनाउने मुख्य उद्देश्यका साथ ‘ट्राफिक प्रहरी रेपिड स्क्वाड’ परिचालन शुभारम्भ गर्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए ।


Views: 139