17th October | 2018 | Wednesday | 10:22:29 PM

झारखण्डबाट जनकपुर आइपुग्यो रेल

पुरन साह   POSTED ON : Thursday, 11 October, 2018 (2:20:54 PM)

झारखण्डबाट जनकपुर आइपुग्यो रेल

जनकपुरधाम । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो ब्लास्ट बोकेको ५३ डब्बासहितको रेल जनकपुर आइपुगेको हो । तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालबाहक रेलमा ल्याइएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद कुमार ओझाले बताए । 

प्रतिघन्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरहरूले लिकमा झार्दै आएका थिए । भारत सरकारको सहयोगमा निर्माण भएको कुर्था (जनकपुर–जयनगर) रेल्वे अन्तर्गत जयनगरबाट जनकपुरसम्म मालबाहक रेल आएको हो । वर्षौंपछि रेल आएको दृश्य हेर्न जनकपुरवासीको भीडभाड लागेको थियो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ ¥याकसहितको रेल्वे जनकपुर आएको हो ।

कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेसन निर्माणको काम अन्तिम चरणमा छ । स्टेसन भवन, आवास निर्माण अन्तिम अवस्थामा रहेको ओझाको भनाइ छ । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घन्टामा पूरा हुनेछ । रेल्वे सेवाको उद्घाटन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम पुनः आउने चर्चासमेत चलेको छ । 


Views: 188