17th October | 2018 | Wednesday | 9:15:24 PM

सर्वत्र विरोधपछि वामदेव ‘ब्याक’

हिमालय टाइम्स   POSTED ON : Friday, 12 October, 2018 (12:57:38 PM)

सर्वत्र विरोधपछि वामदेव ‘ब्याक’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य हुन गरेको प्रयासको सर्वत्र विरोध भएपछि औपचारिक छलफलविना नै यो प्रसंग सेलाउने अवस्थामा पुगेको छ । गौतमका लागि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने र उक्त क्षेत्रमा उपनिर्वाचनका लागि गौतमलाई उम्मेदवार बनाउने योजनाले तीन दिनयता नेपालको राजनीति तताउँदै आएको थियो ।

गौतमलाई नेकपाकै नेताहरूले साथ नदिँदा उनी आफ्नो चाहना तत्कालका लागि त्याग्न बाध्य भएको स्रोत बताउँछ । स्रोतका अनुसार गौतमले बिहीबार पार्टीका केही प्रभावशाली नेतासँग यस विषयमा छलफल गरेका थिए । केन्द्रीय तहका अधिकांश नेतादेखि आफूले उपनिर्वाचनका लागि रोजेको क्षेत्रका स्थानीय नेतासम्मले साथ नदिने स्थिति महसुस गरेपछि गौतमले उपनिर्वाचन लड्ने योजना तत्कालका लागि त्यागेको बताइन्छ ।

यद्यपि, काठमाडौं–७ का सांसद मानन्धरले गौतमका लागि राजीनामा दिन आफू तयार रहेको आशयसहित दिएको निवेदन पार्टीको केन्द्रीय सचिवालयमा विचाराधीन अवस्थामा छ । सचिवालय बैठकमा पेस भइसकेको सो निवेदनमाथि छलफल हुन बाँकी नै छ । सचिवालयको बैठक शनिबार बस्ने कार्यसूची छ ।

सांसद मानन्धरले गत मंगलबार पत्रकार सम्मेलन गर्दै गौतमका लागि आफू राजीनामा दिन तयार रहेको घोषणा गरेपछि नेकपाभित्र र बाहिरसमेत नयाँ राजनीतिक तरंग उत्पन्न भएको थियो । गौतमलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबाहेक अन्य नेताहरूले खुलेर साथ दिएनन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलले खुलेरै गौतमको ‘अभिष्ट’ को विरोध गरे । अर्का प्रभावशाली नेता भीम रावलले पनि स्थायी कमिटी बैठकमा यसबारे गम्भीर छलफल हुनुपर्ने भन्दै उपनिर्वाचनको औचित्य प्रकाश पार्न नेतृत्व तहलाई चुनौती दिएका थिए ।

सामाजिक सञ्जालमा लगातार दुई दिनसम्म नेता गौतम आलोचनाको शिकार बने । विपक्षी दलका नेता–कार्यकर्ताले मात्र नभई नेकपाकै कतिपय नेता–कार्यकर्ताले काठमाडौं–७ मा उपनिर्वाचन गराइए जनताले गौतमलाई पराजित गरेर गलत राजनीतिक अभ्यासलाई परास्त गर्नुपर्ने तर्क सामाजिक सञ्जालमा गर्दै आएका थिए ।

कतिपयले गौतमको सांसद बन्ने चाहनालाई सत्ता संघर्ष र राजनीतिक अस्थिरतासँग जोडेर व्याख्या गर्दै आएका छन् । पार्टीका अध्यक्ष दाहालको समर्थनमा उपनिर्वाचनमार्फत सांसद बनेपछि संसदीय दलको नेता परिवर्तन गरी गौतमले सरकारको नेतृत्व गर्ने र आगामी महाधिवेशनमा दाहाललाई पार्टी नेतृत्व पूर्णरूपमा सुम्पिने योजना बनाइएको आशंका पार्टीका नेता–कार्यकर्ताले गर्दै आएका छन् । दुई तिहाइ बहुमतको सरकार नेतृत्व गर्दै आएको नेकपामा सत्ता संघर्षको परिदृश्य प्रकट हुन थालेपछि नेता–कार्यकर्तापंक्ति विरोधमा उत्रिएका हुन् ।

यसबीचमै उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पोखरेलले बिहीबार गौतमसहित पार्टीका केही प्रभावशाली नेतासँग यस विषयमा छलफल गरेका थिए । उनले उपनिर्वाचन गराउँदा पार्टीले बेहोर्नुपर्ने क्षतिका बारेमा प्रस्ट पारेको बताइन्छ । पार्टी एकतालाई अन्तिम रूप दिन व्यस्त हुनुपर्ने समयमा उपनिर्वाचनको विषय तानेर एकता प्रक्रियालाई नै अल्झाउने काम जिम्मेवार नेताले गर्न नहुने उनको तर्क छ । उनले उपनिर्वाचन गराउने चर्चा सार्वजनिक भएयता पार्टीपंक्तिमा व्यक्त प्रतिक्रिया, आम जनताको बुझाइ लगायतका विषयलाई पूर्वाग्रही नबनी मूल्यांकन गर्न पनि नेताहरूलाई सुझाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सकारात्मक नदेखिएपछि गौतमले सांसद बन्ने हठलाई निरन्तरता दिन नचाहेका हुन् । एकपटक पराजित भइसकेको अवस्थामा उपनिर्वाचनमार्फत सांसद बन्ने वैकल्पिक बाटो समातेका गौतमले पार्टीभित्रको विवाद र असहयोगका कारण अब पनि पराजित हुनुपरेमा राजनीतिक भविष्य नै समाप्त हुने विषयलाई नबुझेका होइनन् । उनले बहालवाला सांसदले राजीनामा दिएर रिक्त हुने पदमा आफू उम्मेदवार बनेर प्रतिनिधिसभामा प्रवेश पाउने सोझो बाटो देखेका थिए । गौतमले नेता–कार्यकर्ता पंक्तिबाट यसलाई यति ठूलो विवादको विषय बनाइन्छ र आफू यति आलोचित भइन्छ भन्ने कल्पनासमेत नगरेको उनी निकट स्रोतले बतायो । ‘अहिले त विरोधको केन्द्र नै वामदेवजी बन्नु भएको छ,’ स्रोतले भन्यो, ‘उहाँको कारण पार्टीलाई नोक्सान नै हुन्छ भने यो कुरालाई किन अघि बढाउने त ? भन्नेमा पुगिएको छ ।’ यद्यपि गौतमले केन्द्रीय सचिवालयमा पुगेको प्रस्तावलाई फिर्ता लिएका छैनन् । शनिबार बस्ने सचिवालय बैठकमा पार्टीले नै यसलाई अघि बढाउने निर्णय गरे गौतम उपनिर्वाचनका लागि तयार हुने, अन्यथा यो विषयलाई यहीँ अन्त्य गर्ने मनस्थितिमा पुगेको बताइन्छ । 


Views: 29