17th October | 2018 | Wednesday | 10:27:38 PM

‘सेनाको लोकतान्त्रीकरण’मा प्रधानसेनापति असन्तुष्ट

हिमालय टाइम्स   POSTED ON : Friday, 12 October, 2018 (1:04:38 PM)

‘सेनाको लोकतान्त्रीकरण’मा  प्रधानसेनापति असन्तुष्ट

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राजनीतिक रूपमा भन्ने गरिएको ‘सेनाको लोकतान्त्रीकरण’ भन्ने वाक्यांशमा असन्तुष्टि जनाएका छन् । 

दशैं, तिहार तथा छठ जस्ता पर्वको पूर्वसन्ध्यामा सञ्चारकर्मीहरूसँग शुभकामना आदानप्रदान गर्न बिहीबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सांकेतिकरूपमा असन्तुष्टि जनाएका हुन् । उनले सेनाको लोकतान्त्रीकरण भन्दा पनि ‘व्यावसायीकरण’ भन्ने शब्द उपयुक्त हुने उनको भनाइ थियो । 

उनले बाहिरीरूपमा सेनाले देशको संविधानको संरक्षणका लागि काम गर्ने र सेनाभित्रै चाहिँ आफैँले व्यवस्थापन गर्ने बताउँदै बाहिरबाट माइक्रो म्यानेजमेन्टले सेनाको हित नगर्ने समेत उनले बताए । उनको संकेत सेनाभित्रका ससाना गतिविधिमा पनि राजनीतिक तहको हस्तक्षेप भएको भन्नेतिर लक्षित देखिन्थ्यो । 

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई सदैव सर्वाेपरि मान्दै आएको जनाउँदै उनले भने, ‘यदाकदा यसलाई नेपाली सेनाको लोकतान्त्रीकरण पनि भन्ने गरिएको पनि मैले पाएको छु । यसलाई नेपाली सेनाको व्यावसायीकरण भन्दा अझ राम्रो सुनिन्छ होलाजस्तो मलाई लाग्छ ।’

सेनापतिले नागरिक सर्वोच्चता सम्बन्धमा धारणाहरू समान हुनु जरुरी रहेको बताए । उनले नागरिक सरकारको कानुनसम्मत आदेश तथा निर्देशनहरूको पालना गर्नु नेपाली सेनाको दायित्व र संगठनको आन्तरिक व्यवस्थापन नेपाली सेनाको जिम्मेवारी भएको बताए । उनले यदाकदा हुने गरेको माइक्रो म्यानेजमेन्टले सेनाको हित गर्दैन भन्ने आफ्नो बुझाइ रहेको जनाए । नेपाली सेनाको सञ्चालन सम्बन्धमा आवश्यक नीतिनियमहरू तयार गरी लागु गर्ने र गराउने जिम्मेवारी सरकारको भएको र सही अर्थमा सेनालाई पेसागतरूपमा दक्ष बनाई राष्ट्रिय शक्तिको भरपर्दो संयन्त्रका रूपमा स्थापित गर्नु नै सैनिक संगठनको व्यावसायीकरण भएको बताए । 

प्रधानसेनापतिले सेनाको बृहत्तर संस्थागत हित, व्यावसायिक क्षमता अभिवृद्धि र सांगठनिक सुदृढीकरणका निमित्त राष्ट्रिय सुरक्षाको पहरेदार संस्थाका रूपमा सेनालाई विकसित गर्दै लैजाने आफ्नो लक्ष्य रहेको बताए । 

सेनामा आकर्षित गरिने

प्रधानसेनापतिले वर्तमान र भविष्यका जिम्मेवारीहरू पूरा गर्न सक्ने गरी नेपाली सेनालाई तयार गर्नेतर्फ शिक्षित, योग्य र कुशल युवाहरूलाई राष्ट्रसेवाका लागि आकर्षित गर्दै नेपाली सेनालाई सुदृढ, सबल र सक्षम संस्थाको रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको बताए ।

भनसुन अन्त्य

प्रधानसेनापतिले सकल दर्जालाई गुण, दोष, कार्यसम्पन्नता र उपलब्धिहरूका आधारमा अवसरहरूद्वारा अभिप्रेरित गर्न भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने काम सुरु भइसकेको समेत जनाए । उनले संस्थागत हितलाई प्राथमिकतामा राखी व्यवस्थापन र कार्यप्रणालीहरूमा समयानुकूल सुधार गरी गतिशील, भरपर्दो र सिक्दै जाने संगठनका रूपमा स्थापित गर्नेतर्फ ठोस पहलकदमी सुरु भइसकेको बताए । 

प्रधानसेनापतिले संगठनको साख उँचो राख्ने प्रयत्न थालेको र नेपाली सेनालाई राष्ट्रिय एकता र आस्थाको आधार बनाउँदै लैजाने लक्ष्य लिएको जनाए । 

समन्वय नभए सुरक्षा कमजोर

प्रधानसेनापतिले संविधानको रक्षा गर्नु नेपाली सेनाको परम कर्तव्य हो भने । उनले नेपाली सेनाको समसामयिक आधुनिकीकरण गर्न लागि दीर्घकालीन योजनाका रूपमा नेपाली सेनाको भिजन २०३० तयार गरी कार्यान्वयनमा ल्याइने जनाए । 

‘रेडी फर रोल’ मा सेना

प्रधानसेनापतिले नेपाली सेनालाई ‘रेडी फर रोल’ को अवस्थामा राख्न तयार गरिएका अवधारणाहरू विश्वसनीयढंगले कार्यान्वयन गर्दै लगिने बताए । उनले नेपाली सेना संविधान विरोधी र विखण्डनवादी तŒवहरूका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरूलाई सूक्ष्म रूपबाट नियालेर निरन्तर मूल्यांकन गरिरहेको बताए । उनले राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प भएको पनि बताए । राष्ट्रहरूसँग अन्य विकल्पहरू पनि छन् भन्ने पक्षलाई बिर्सन नमिल्ने र संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चित गर्न नेपाली सेनाको परम कर्तव्य भएको प्रधानसेनापतिले बताए । 

उनले विगतमा सिकेका पाठहरूलाई आधार मानी सम्भावित सुरक्षा चुनौती र खतराहरूलाई सम्बोधन गर्न नेपाली सेना सदैव तयार रहेको पनि बताए । 

उपत्यकाबाहिर लजिस्टिक डिपोट

प्रधानसेनापतिले उपत्यकाबाहिर लजिस्टिक डिपोट स्थापना गर्दै विकेन्द्रीकरणलाई व्यावहारिक बनाउने योजना रहेको बताए । उनले सकल दर्जाको मनोबल उच्च राख्न विविध सेवासुविधाहरू सहितको क्यान्टोनमेन्ट सिस्टमको योजना तयार गरी कार्यान्वयन गर्दै जाने पनि बताए । 

संगठन वैज्ञानिक 

प्रधानसेनापतिले फौजलाई विभिन्न युद्ध वा द्वन्द्वका सम्भावित वातावरण वा अवस्थाका लागि तयारी अवस्थामा राख्ने बताए । उनले संगठन सञ्चालनलाई वैज्ञानिक बनाउँदै नेपाली सेनालाई गतिशील संस्थाको रूपमा विकास गर्न दीर्घकालीन सांगठनिक हितका विषयहरूमा सैनिक मर्यादाभित्र रही खुला छलफलमा आधारित योजना र निर्णय गर्ने प्रणाली आरम्भ गरेको बताए । 

सेनाको आकारमा असन्तोष

प्रधानसेनापतिले नेपाली सेनाको संख्याको सम्बन्धमा बेलाबखत विभिन्न धारणाहरू आउने गरेको भए पनि सेनाको अहिलेको आकार र स्वरूप द्वन्द्वकालको आवश्यकतामा आधारित भई सिर्जना भएको बताए । नेपाली सेनाको पुनर्सन्तुलन गर्दै अहिलेको अवस्थामा आएको र संगठनको संरचना मिल्न नसकेको उनले बताए । आवश्यकता हुने बित्तिकै भर्ना लिने र काममा लिन सकिने अवस्था कुनै पनि सैनिक संगठनमा सम्भव नहुने पनि उनले बताए । उनले भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरेर राष्ट्रिय सेनाको स्वरूप र आकार निर्धारण गर्नुपर्ने बताए । 

विकास निर्माण जिम्मेवारी

प्रधान सेनापतिले विकास निर्माण नेपाली सेनालाई संविधानले तोकेको जिम्मेवारी भएको बताए । उनले यस विषयमा नेपाली सेनाको व्यावसायिकतालाई जोडेर विवादित गर्ने प्रयास बेलाबेलामा हुने गरेको भन्दै असन्तोष प्रकट गरे । सरकारले विकास निर्माणसम्बन्धी जिम्मेवारी दिएपछि नेपाली सेनाले पूरा गर्नैपर्ने उनको भनाइ थियो । 

प्रभावकारी सैनिक विशेष अदालत

प्रधानसेनापतिले भ्रष्टाचारका विषय सैनिक विशेष अदालतले हेर्ने गरी व्यवस्था गर्ने बताए । यो अदालतलाई प्रभावकारी बनाउने बताए ।

नेपाली सेनाको कल्याणकारी कोषको सम्बन्धमा अहिलेकै कार्यक्रमहरूको सही व्यवस्थापन र सेवाग्राही केन्द्रित बनाउने उनले बताए । सैनिक कल्याणकारी कार्य अत्यन्त महŒवपूर्ण पक्ष रहेको उनको भनाइ थियो । 

शान्ति सेनाको कोटा खारेज

प्रधानसेनापतिले केही नीतिहरू परिमार्जन गरिएको बताउँदै शान्ति सेना छनोटमा कोटा प्रणाली हटाइएको जानकारी गराए । यस किसिमका व्यवस्थाहरूको अभ्यास र त्यसका असरहरू विस्तारै महसुस गर्दै जाने पनि उनले बताए । 


Views: 28