21st November | 2018 | Wednesday | 10:19:22 AM

अब बन्नेभो रेल कानुन

हिमालय टाइम्स   POSTED ON : Monday, 15 October, 2018 (2:37:18 PM)

अब बन्नेभो रेल कानुन

काठमाडौं । सरकारले आफ्नै रेल सञ्चालनका लागि आवश्यक कानुनी तथा संरचनागत तयारीको काम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । जनकपुर–जयनगर रेल वे निर्माण कार्य सम्पन्न हुन लागेकोले आफ्नै कानुन बनाउने तयारी गरिएको जनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सरकारले नेपालको आफ्नै व्यवस्थापनमा निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वे सञ्चालनको निम्ति आवश्यक कानुनी र अन्य संरचना निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सरकारले दुई महिनापछिमात्रै लोक सेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय समेत गरेको छ । त्यस्तै मेडिकल शिक्षा शुल्क एक वर्षसम्म नबढाउने निर्णय गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख भए अनुसार मेडिकल शिक्षा शुल्क यथावत् राख्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले काठमाडौंको जमलस्थित परीक्षा नियन्त्रण कार्यालय रहेको ठाउँमा अत्याधुनिक भवनसहितको राष्ट्रिय पुस्तकालय बनाउने निर्णय पनि गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सरेपछि उक्त स्थान खाली रहेको छ । मन्त्रिपरिषद् बैठकले नेपालको समग्र विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको आकलन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति बनाएको छ । मुलुकका निम्ति आवश्यक चिकित्सक, इन्जिनियर, अर्थशास्त्रीलगायत जनशक्ति तयार हुनेगरी समग्र शैक्षिक क्षेत्रको पुनर्संरचना गर्न शिक्षामन्त्री पोखरेल नेतृत्वको निर्देशक समिति बनाउने निर्णय गरिएको पनि मन्त्री ज्ञवालीले बताए । 

समितिले ६ महिनाभित्र राष्ट्रिय योजना आयोगको पञ्चवर्षीय योजनामा समावेश हुनेगरी आवश्यक सुझाव तयार पार्ने कार्यादेश पाएको छ । त्यसैगरी हवाई उडड्यन र पर्यटन प्रवद्र्धन सम्बन्धी विधेयक तयार पार्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ । आइतबारको मन्त्रिपरिषद्को बैठक निकै लामो समय सम्म चलेको थियो । सरकारले दशैँको उपलक्ष्यमा सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु, शान्ति र समृद्धिको शुभकामनासमेत व्यक्त गरेको छ । बुधबारदेखि पाँच दिन दशैँको सार्वजनिक विदा हुनेछ । 


Views: 134