21st November | 2018 | Wednesday | 9:43:19 AM

गोदावरी नगरपालिकाको भवन शिलान्यास

हिमालय टाइम्स   POSTED ON : Monday, 15 October, 2018 (2:42:29 PM)

गोदावरी नगरपालिकाको भवन शिलान्यास

काठमाडौं । आफ्नै भवन नहुँदा छुट्टाछुट्टै ठाउँमा भवन भाडामा लिएर काम गरिरहेको गोदावरी नगरपालिकाले आफ्नै भवन निर्माण गर्ने भएको छ । 

वडा नं ११ मा निर्माण गर्न लागिएको उक्त भवनको आइतबार ललितपुर क्षेत्र नं १ का सांसद नवराज शिलवाल उद्घाटन गरे । उनले जनप्रतिनिधिहरू राजनीतिक विचारभन्दा माथि उठेर विकास निर्माणको काममा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘सबैको आ आफ्नै राजनीतिक आस्था हुन्छ तर विकासमा राजनीतिक आस्थालाई घुसाउनु हुँदैन ।’ उनले गोदावरी नगरपालिका स्रोत र साधनमा सम्पन्न रहेको तर सदुपयोग हुन नसकेको बताए । सासंद सिलवालले गुरु योजनाअनुसार विकास चरणबद्धरूपमा अघि बढाउनुपर्ने बताए । 

नेपाली कांग्रेस ललितपुरका सभापति तथा पूर्वसांसद मदनबहादुर अमात्यले प्रजातन्त्रमा जनता केन्द्रित विकास हुनुपर्ने बताए । उनले भने, ‘जुन विकासले जनतालाई खुशी दिन सक्दैन, त्यसको अर्थ हुँदैन ।’ स्थानीय तह जनताको नजिकको सरकार हो भन्ने कुरा नेताहरूले बुझ्नुपर्ने उनको भनाइ थियो । 

गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिका वन, जंगल र पानीलगायत स्रोतसाधनमा सम्पन्न भए पनि त्यसको प्रयोग गर्न नसकिएको बताए । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय नुहँदा समस्या देखिएको स्पष्ट पारे । 

आफ्नै भवन नहुँदा नगरपालिकाले महँगो भाडा तिरेर नगरपालिकाको कार्यालय सञ्चालन गरेको छ । छुट्टाछुट्टै भवनका कारण सेवाग्राहीले सेवा लिन कठिनाइ महसुस गरेका छन् । नगरपालिकाले अहिले मुख्य प्रशासनिक कामकाज सञ्चालन गर्न र शिक्षा र प्राविधिकतर्फको कामकाज चलाउन दुई ठाउँमा भाडामा भवन लिएको छ । उक्त भवन निर्माणको जिम्मा तुल्सीभक्त ड्रागन जेभी निर्माण कम्पनीले पाएको छ । 

निर्माण कम्पनीसँग भवन निर्माणका लागि असोज २४ गते ठेकेदारसँग सम्झौता भएको छ । सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सक्ने उल्लेख छ । भवन निर्माणका लागि २७ करोड ५० लाखको टेन्डर आहृवान गरिएको थियो । नगरपालिकाका अनुसार १२ रोपनी जग्गामा निर्माण हुन लागेको उक्त भवन सात तलाको हुनेछ । 


Views: 187