19th November | 2018 | Monday | 2:52:48 AM

एक उपमेयरको डेढवर्षे अनुभव

रमा लुइँटेल   POSTED ON : Saturday, 03 November, 2018 (3:39:51 PM)

एक उपमेयरको डेढवर्षे अनुभव

स्याङ्जाको वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारी एउटा कार्यक्रममा भाग लिन काठमाडौं आएकी थिइन् । त्यही कार्यक्रममा उनीसँग मेरो भेट भयो । फोहोरलाई मोहरमा बदल्न सफल यो नगरपालिकाले गरेका राम्रा कामबारे सुनेकी थिएँ । कार्यक्रम सक्नेबित्तिकै मैले उनलाई एकछिन छुट्टै भेट्न समय मागें । चिसिँदै गरेको काठमाडौंमा चियाको चुस्कीसँगै केहीबेर भलाकुसारी गर्ने प्रस्ताव राखें । मेरो प्रस्ताव उनले स्वीकार गरिन् । उपमेयर भएपछिको अनुभव, नगरपालिकाको योजना र उपमेयर निर्वाचित हुनुअघि उनको सक्रियताबारे मैले एकपछि अर्को गर्दै कुरा गर्न सुरु गरें । 

कल्पनाले वालिङ नगरपालिकाको उपमेयर पदको जिम्मेवारी सहृमालेको डेढ वर्ष पूरा हुन लागेको छ । अझै उनी आफूलाई मेयर पदकै दाबेदार भएको बताउँछिन् । उनले मेयर पदमै उम्मेदवारी दिने निर्णय गरेकी थिइन् । राजनीतिक संस्कारमा हुर्किएकी कल्पनाले पार्टीको निर्णयलाई अन्तिम मानिन् । र, उनले स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उम्मेदवारी दिइन् । 

नयाँ संविधानअनुसार निर्वाचनले १५ वर्षदेखि रिक्त स्थानीय तहमा जनप्रतिनिधि दियो । लामोसमय जनप्रतिनिधि नहुँदा गाउँ, टोल र शहरमा जनता निराश थिए । सडक, बिजुली, पानीलगायतका आवश्यकताको थियो । तर, काम हुन सकेको थिएन । लामो रिक्ततापछि जनप्रतिनिधि पाएकाले जनता निकै आशावादी थिए । जनप्रतिनिधिले आफ्ना गुनासा सुन्छन्, विकास गर्छन् भन्ने अपेक्षा थियो । साँच्चै आफ्ना प्रतिनिधि पाएपछि जनताले सहज महसुस गरेका छन् । 

कल्पनालाई कहिलेकहीँ जनताले चाहिनेभन्दा बढी अपेक्षा गरेझैँ लाग्छ । जनप्रतिनिधिले सबै काम फटाफट गर्न सक्छन् र गर्नुपर्छ भन्ने धारणा जनतामा छ । लामोसमय स्थानीय तहमा जनप्रतिनिधि विहीन थियो जसले गर्दा जनप्रतिनिधिलाई त्यहाँको अवश्यकता र समस्या बुझ्न समय लागेको अनुभव कल्पनाको छ । विधिअनुसार काम हुन लाग्ने न्यूनतम समय त पर्खिनुपर्छ । 

कल्पना निर्वाचित प्रतिनिधिलाई जनताको विश्वासिलो सेवक भन्न रुचाउँछिन् । भन्छिन्, ‘हाम्रो पद ठूलो कुरा होइन, हामी जनताका सेवक हौँ ।’ निर्वाचित गरेर सेवा गर्ने मौका दिइएकामा उनले जनतालाई धन्यवाद दिइन् । पाँच वर्षको कार्यकालमा इमानदारीका साथ काम गर्ने र जनताको सेवामा अधिकतम समय दिने अठोट गरिन् । भन्छिन्, ‘म जनताको विश्वासमा कुठाराघात गर्दिनं, जनताकै लागि काम गर्छु ।’ 

आफ्नो ठाउँको विकासप्रति जनतामा बढेको कौतुहलता र चासोले उनी उत्साहित छिन् । ‘एक मिटर पाइन पुगेन, यहाँको बाटो कहिले बन्छ, खानेपानी आयोजनाको अवस्था के छ’ जनताका जिज्ञासा यस्तै कुरामा बढी हुन्छन् । यस्तै कुरामा नगरपालिका र आआफ्ना वडा कार्यालयमा जनता आइपुग्छन् । ऐन, नियमसँग सम्बधित दैनिक काम छँदैछ । जनताको यस्तो चासो र चिन्तनले जनप्रतिनिधिलाई सक्रिय हुन ऊर्जा प्राप्त हुने गरेको कल्पनाको अनुभव छ । 

विकास भनेको उन्नत चेतना 

कल्पनाको विचारमा नगरपालिकाभित्र चिल्ला सडक बन्नु, घर घरमा पानीको धारा पुग्नुमात्रै विकास होइन । जनताको चेतनाको स्तर बढ्नुपर्छ । उन्नत चेतनाले मात्रै विकास दिगो बनाउँछ । सडक फराकिलो तर किनरामा फोहोर फालिएको छ भने सडकमा मात्रै के खुशी हुनु ¤ चेतना ठूलो कुरा हो ।  जनताको उन्नत चेतनाले विकास दिगो बनाउँछ, विकासका लागि खर्चिएको समय र धन सदुपयोग भएको ठहर्छ नत्र व्यर्थ । 

स्याङ्जा चेतनास्तरमा निकै अगाडि रहेको जिल्ला हो । वालिङका नागरिक झन् बढी सचेत छन् । 

गाउँको दुःख

ग्रामीण क्षेत्रमा बस्ने महिला र शहरमा बस्ने महिलाको दिनचर्या फरक छ । गाउँका महिलाले बिहानदेखि बेलुकासम्म घर, खेतबारी र वनपाखामा काम गर्नुपर्छ । उनीहरूको काममा कष्ट छ, श्रम धेरै छ । शहरका महिलाले काम गर्छन् तर सजिलोसँग । ग्रामीण क्षेत्रका महिलाको असहज जीवनयापन सहज बनाउन विशेष कार्यक्रम ल्याउने तयारीमा छिन् कल्पना । भन्छिन्, ‘भात पकाउन दाउरा ल्याउनु प¥यो, धुवाँ खप्दै पकाउनुप¥यो, कालो भाँडा माँझ्नुप¥यो ।’ धुवाँरहित चुलो ल्याउनसके उनीहरूको दिनचर्या सहज हुने थियो । 

महŒवहीन त होइन ? 

जब कल्पना आफ्ना समकक्षीहरूसँग कुरा गर्छिन्, भेटघाट गर्छिन्, सबैले उनले जस्तै अनुभव गरेको पाउँछिन् । उपमेयरहरूबीच कामको कुरा हुन्छ । उनीहरूले महŒव नपाएको हो कि जस्तो लाग्छ । धेरै महलिा उपमेयरको यस्तै अनुभव छ भन्छिन् कल्पना । ‘हामीलाई महŒवहीन बनाइन्छ, मलाई यस्तै लाग्छ’ उनले भनिन् । सूचनामा एकदम ग्याप भएको अनुभव छ उनको । नगरपालिकाले सञ्चालन गरको आयोजना केही जानकारी हुँदैन तर अनुगमनका लागि जानुप¥यो भन्ने कुरा आउँछ । कतिपय विषय बैठकमा अनुमोदनका लागि पुगेपछि थाहा हुन्छ । नगरपालिकाभित्रको गतिविधिको सूचनाका लागि आफूले चासो राख्ने गरेको भएपनि सबैमा पहुँच हुन नसकेको उनको भनाइ छ । सूचना लुकाउन खोजिएको छ भन्ने लागेको ठाउँमा उनले प्रश्न उठाउने गरेकी छन् । 

न्यायिक समितिको अध्यक्ष 

नगरपालिकामा उपमेयर न्यायिक समिति अध्यक्ष रहने व्यवस्था छ । यसैअनुसार कल्पना समितिकी अध्यक्ष हुन् । उनीसँग महिला सल्लाह माग्न आउँछन् । आफ्ना समस्या राख्दै उनीहरूले ‘तपाई महिला भएकाले हामीलाई कुरा गर्न सजिलो छ’ भन्छन् । कल्पनाले ती महिलालाई आफूले जानेबुझेसम्म सल्लाह दिन्छिन् । न्यायिक समितिमा उजुरी धेरै परेका छन् । अहिलेसम्म २०–२२ वटा उजुरी टुंगिएका छन् । धेरैजसो मेलमिलापमा टुंग्याएका छन् । घरेलु हिंसा, सँधियारसँगको झगडा, ज्येष्ठ नागरिकले भोग्नु परेका समस्यालगायतमा बढी उजुरी छन् । वालिङको प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । । उनको समितिमा अधिकांश केश मेलमिलापबाट टुंगिएको छ, बहुविवाहको एउटा उजुरी अदालत पुगेको छ । कल्पना आफूले नेतृत्व गरेको समितिले गरेको कामको फेहरिस्त लगाउँछिन् ।

एकदिन एक महिला एउटा समस्या लिएर कार्यकक्षमा प्रवेश गरिन् । उनको बिहे भएको ६ वर्ष भएको रहेछ ।  तर, ती महिलाका श्रीमान् बिहे दर्ता गर्न मान्दा रहेछन् । अर्को दिन फरक विषयमा छलफल गर्न अर्की महिला आइन् । ती महिलाका श्रीमान् केटी लिएर होटलमा बस्दा रहेछन् । तर, ती महिलाको सम्बन्ध विच्छेद गर्न चाहन्नन् । उजुरी दिन आउने महिलामा सम्बन्धविच्छेद गर्न चाहना नभएको पाउँछिन् । यस्तो चाहना हुनुमा सम्बन्ध विच्छेदपछिको एक्लो जीवनमा समाजले गर्ने प्रश्न र टिकाटिप्पणी झेल्ने आँट कम भएको कल्पनाको अनुमान छ । 

प्याराग्लाइडिङको आकर्षण

वालिङ पर्यटकीय नगर हो । यहाँको मुख्य आकर्षण भनेको प्याराग्लाइडिङ हो । प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ठाउँ वालिङ वडा नं ११ मा छ । भीरकोट नगरपालिका वडा नं ५ बाट प्याराग्लाइडिङ उड्छ । प्याराग्लाइडिङ ल्याण्ड गरेको र उडेको वालिङ नगरपालिकाबाट मात्रै देखिन्छ । यो वालिङ नगरपालिकाको अर्को आकर्षण हो । यतिबेला प्याराग्लाइडिङ खेल्न २० देशका ९४ खेलाडी उपस्थित भएका छन् । यस पटक यो खेल पाँच दिन चल्नेछ । यो विश्व कप नै हो । खेल पर्यटनसँगै धार्मिक पर्यटनले नगरपालिका समृद्ध छ । शाहवंशीय राजाहरूको कुल देवताको मन्दिर वालिङमै छ । सत्यदेवीको सम्पूर्ण अंग पतन भएको छायाँक्षेत्र मन्दिर यहाँ छ । छायाँ क्षेत्र दर्शनका लागि हजारौं दर्शनार्थी वालिङ आउँछन् । 

सफा वालिङ

वालिङ नगरपालिकाको प्रत्येक घरबाट फोहोर छुट्टाछुट्टै उठाइन्छ । कुहिने, नकुहिने, प्लाष्टिक र सिसा वर्गीकरण गरिएको छ । सिसा  फोहोर महिनामा एकपटक उठाइन्छ । घरबाट उठाएको फोहोर सरसफाइ केन्द्र पु¥याउने काम गैरसरकारी संस्थाको सहयोगमा नगरपालिकाले गर्छ । प्रशोधनको जिम्मा अर्को संस्थाले पाएको छ । नगरपालिकाले फोहोर प्रशोधन गरेर आम्दानी गर्न थालेको छ । प्लाष्टिक सडकमा बिछ्याउने अलकत्राको रूपमा प्रयोग गर्न सकिने जानकारी विज्ञहरूबाट पाएपछि नगरपालिका त्यसको तयारीमा जुटेको छ । ‘प्लाष्टिकलाई ठिक आकारप्रकार दिन मेसिन किन्ने प्रक्रियामा नगरपालिका छ,’ कल्पनाले योजना सुनाइन् । मेसिनले पेलेर तयार पारेको प्लाष्टिकले अलकत्राले भन्दा दुई गुना राम्रो काम गर्ने जानकारी उनले पाएकी छन् ।

त्यागबाट प्राप्ति 

कलेजबाट नेविसंघको राजनीतिमा प्रवेश गरेकी कल्पनाले महिला संघ स्याङ्जाको अध्यक्ष भइन् दुई कार्यकाल । उनले तरुण दलको केन्द्रीय सदस्य त्यागपछि मात्रै प्राप्ति सम्भव भएको बताउँछिन् । राजनीतिमा लाग्दा परिवारबाट सधैँ सहयोग र प्रेरणा पाइन् कल्पनाले । जुन साथ र सहयोग उनकै समकक्षी र समवयीले पाएनन् होला । कल्पना भन्छिन्, ‘मेरा लागि बाहिरको वातावरण सकारात्मक नभए पनि घरको सहयोग थियो ।’ नेपाली कांग्रेसको राजनीतिक विचारबाट प्रभावित कल्पनाले लगभग २५ वर्ष स्याङ्जाको राजनीति र सामाजिक क्षेत्रमा योगदान पु¥याएकी छन् । प्रत्येक महिला सचेत हुनुपर्ने आजको आवश्यकता भएको उनी बताउँछिन् । समृद्ध वालिङ, समृद्ध महिला बनाउन उनले देखेको सपना पूरा होस् शुभकामना । 


Views: 174