19th November | 2018 | Monday | 2:18:15 AM

कांग्रेसमा पुनः किचलो, महासमिति बैठक सर्ने

हिमालय टाइम्स   POSTED ON : Sunday, 04 November, 2018 (10:00:34 AM)

कांग्रेसमा पुनः  किचलो, महासमिति बैठक सर्ने

 काठमाडौं । चुनाव सकिएको झण्डै एक वर्षपछिका लागि तोकिएको महासमितिको बैठक पनि अन्योल भएपछि कांग्रेसको आन्तरिक विवाद र कमजोरी पुनः एक पटक सतहमा आएको छ ।

आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौमा बस्ने भनेको नेपाली काँग्रेसको महासमिति बैठक पार्टीको आन्तरिक विवाद मिल्न नसक्दा तोकिएको समयमा नहुने भएको छ ।

महासमिति कांग्रेसको नीति निमार्ण गर्ने उच्चस्तरीय थलो हो । यसले नेतृत्व परिवर्तन गर्ने बाहेक पार्टीको सम्पुर्ण काम गर्ने गर्दछ । तर यहाँ विवादकै कारण बैठक सर्ने भएको हो ।

कांग्रेसको विधान संशोधन मस्यौदा समितिले काम नसक्दा मंसिर पहिलो साताका लागि तोकिएको महासमिति बैठक सर्ने भएको स्रोतले बतायो । सभापति शेरबहादुर देउवाले विधान संशोधनको विषय नटुंगिएको भन्दै दुई सातासम्म बैठक सार्न अनौपचारिक संवाद थालेको उच्च स्रोतको दावी छ ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र आफूनिकट नेताहरूसँग मंसिरभित्र नयाँ मिति तोक्ने गरी बैठक सार्नेबारे छलफल गरेको नेताहरूले बताएका छन् ।

महासमिति बैठकमा पार्टीको समग्र राजनीतिक, सांगठनिक, आर्थिक विषयका प्रस्ताव प्रस्तुत हुन्छ । महासमिति बैठकले पार्टीसँग जोडिएका सम्पुर्ण विषयमा छलफल गरेर दिशानिर्देश गर्ने काम गर्छ । बैठकमा संविधान कार्यान्वयन, संघीय प्रणालीको विकासव्रmम संघ, प्रदेश र स्थानिय तहविचको अधिकार प्रत्यायोजन लगाएत विषयमा छलफल हुने छ ।

महासमिति बैठकमा पेश गर्न राजनीति र आर्थिक प्रस्ताव लेख्न शुरु गरिएको छ । कांग्रेसले लिने भावी रणनीति पनि महासमिति बैठकले तय गर्ने छ । कग्रेसका नेता देखि कार्यकर्ताहरु महासमिति बैठकको ब्यग्र प्रतिक्षामा छन् । तर नेतृत्वले महासमिति बैठक तोकिएको मितिभन्दा केहि पर धकेल्ने संकेत गरेको छ ।

कांग्रेसमा १२ सय महासमिति सदस्य छन् । महासमिति बैठकले कांग्रेसको नयाँ विधान पारित गर्ने छ । नेपाली काग्रेसको नयाँ विधानमा प्रस्ताव भएका विभिन्न विषयले कांग्रेस नेता देखि कार्यकतासम्ममा उत्साह थपिएको छ । तर विधान लेखन अन्तिम चरणमा पुगे पनि कतिपय विषयमा विवाद कायमा छ ।

नेताहरुको स्वार्थ बाँझिदा विधान संशोधन टुङ्गोमा पुग्न सकेको छैन भने महासमिति बैठक नै अन्योलमा परेको छ । कांग्रेसको वार्षिक रुपमा महासमिति बैठक नबस्दा नीतिगत रुपमा निर्णय लिन अलमल गर्ने गरेको नेताहरु नै बताउछन ।

निर्धा्रित समय केही पर धकेलिए पनि महासमिति बैठकले ऐतिहासिक महत्व राख्ने कुरामा केन्द्रीय समिति सदस्यहरु विस्वस्त रहेका छन् । जसका कारण कांग्रेसको भावी रणनीति तय गर्न यो बैठकले प्रभावकारी भुमिका खेल्ने छ । 

चुनावमा अनपेक्षित पराजय बेहोरेपछि नेतृत्वप्रति असन्तुष्ट नेताहरुले महासमितिको बैठकको माग गर्दै आएका थिए ।


Views: 45