19th November | 2018 | Monday | 1:57:14 AM

कर्मचारीले काममा अवरोध गरेको प्रचण्डको आरोप

चन्द्रकान्त खनाल   POSTED ON : Sunday, 04 November, 2018 (5:48:58 PM)

कर्मचारीले काममा अवरोध गरेको प्रचण्डको आरोप

रुपन्देही । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विकासको काममा कर्मचारीको अवरोध भएको भन्दै यस्तै गरे उनीहरूलाई निकालेर फालिदिने चेतावनी दिएका छन् । नेकपाको आयोजनामा शनिबार बुटवलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले यस्तो चेतावनी दिएका हुन् । दाहालले कर्मचारीलाई संघीयता सम्बन्धी सिकाउने यदि त्यो उनीहरूले मानेनन् भने बलपूर्वक निकालेर फालिदिने चेतावनी दिए । 

नेपाल अब ल्यान्डलक्ड कन्ट्रीबाट ल्यान्ड लिंक्ड कन्ट्री भएको बताउँदै अध्यक्ष दाहालले अब नेपालले विश्वको जुनसुकै ठाउँबाट पनि व्यापार गर्न सक्ने जनाए । उनले चीनसँगको पारवहन सम्झौताले अब ४ वटै बन्दरगाह प्रयोग गर्न सकिने समेत बताए । अब भारतमा मात्र व्यापार सीमित नहुने उनको भनाइ थियो । 

अध्यक्ष दाहालले  अहिलेसम्म सरकार नीति नियम बनाउन व्यस्त रहेकोले अब सरकारको काम तीव्र हुने जनाए । ‘अहिलेसम्म वर्षाको समय थियो सरकार एक गियरमा थियो अब सरकारले चार गियरमा काम गर्छ,’ उनको भनाइ थियो । अब कसैले विकासको काम रोक्न नसक्ने उनले बताए ।

अध्यक्ष दाहालले १४ वर्ष जेलबास र १४ वर्ष वनबास भएका आफूहरू मिलेर दुई तिहाइको सरकार बनाएको समेत जनाए । उनले अब यो सरकारलाई कुनै प्रतिक्रियावादीले अवरोध गर्न नसक्ने उल्लेख समेत गरे । पार्टी एकतापछि पहिलो पटक बुटवल आएका दाहालले गौतमबुद्धले विश्वमा शान्तिको सन्देश फैलाएका थिए भने अहिले आफूहरूले विश्वका सबैलाई नेपालका दुई प्रमुख पार्टी एक भएर सन्देश दिएको बताए । 

नेकपाका महासचिव विष्णु पौडेलले दुई पार्टीको एकता विश्वका लागि अध्ययन गर्नेखालको विषयवस्तु भएको बताएका छन् । उनले केन्द्रमा भएको पार्टी एकता अब चाँडै प्रदेश तथा स्थानीय तहमा हुने जनाए । कार्यक्रममा कृषिमन्त्री चन्द्रप्रकाश खनाल, नेकपाका नेता टोपबहादुर रायमाझी प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, ओनसरी घर्ती, शिवराज सुवेदी लगायतले पनि बोलेका थिए । 


Views: 59