19th November | 2018 | Monday | 2:26:51 AM

कांग्रेसको किचलो

हिमालय टाइम्स   POSTED ON : Sunday, 04 November, 2018 (6:04:15 PM)

कांग्रेसको किचलो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक अन्योलमा परेको छ । मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने भनिएको बैठक ‘तयारी नपुगेको’ बहानामा सारिने संकेत देखिएको हो ।

कात्तिक २० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तोक्ने जनाइएको छ । महासमिति बैठक सार्नकै लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको स्रोतले जनाएको छ । पार्टीको विधान संशोधनको मस्यौदा समयमै तयार नभएका कारण महासमिति बैठक सर्ने भएको हो । 

पार्टीलाई संघीय संरचनामा लैजान र संगठन पुनर्संरचनाका लागि विधान संशोधनको तयारीमा रहेको कांग्रेसभित्र विधान संशोधनको मस्यौदाबारे तीव्र मतभेद देखिएको छ । संस्थापन पक्षले सभापतिलाई शक्तिशाली बनाउन खोजिरहेका समयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरू भने केन्द्रीय कार्यसमितिका अधिकांश सिटमा लोकतान्त्रिक विधिबाट सदस्य चयन गर्नुपर्ने पक्षमा छन् । यही विवादका कारण विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

कति समय लाग्छ ?

पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ११ सदस्यीय विधान संशोधन मस्यौदा समितिले विधान संशोधनको मोटामोटी खाका तयार पारिसकेको छ । समितिअन्तर्गत तीनवटा उपसमितिसमेत गठन गरेको थियो । प्रत्येक प्रदेशमा पुगेर समिति र उपसमितिले सुझाव संकलन गरी प्राप्त सुझावको आधारमा मस्यौदाको खाका तयार पारेको हो । समितिमा रहेका एक सदस्यका अनुसार करिब ९० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम तीन–चार दिनभित्रै सक्ने लक्ष्य रहेको उनले बताए ।

स्रोतका अनुसार कात्तिक २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विधानको संशोधन मस्यौदा उपलब्ध गराउने लक्ष्य छ । केन्द्रीय सदस्यहरूलाई मस्यौदा अध्ययनका लागि तीन–चार दिनको समय छुट्याउने हो भने पनि तिहार र छठ पर्वअघि केन्द्रीय समिति बैठकमा मस्यौदामाथि छलफल गर्न सम्भव छैन ।

‘कात्तिक २१ गते लक्ष्मी पूजा छ,’ ती सदस्यले भने, ‘केन्द्रीय सदस्यहरूले मस्यौदा अध्ययन गरेपछि केन्द्रीय कार्यसमिति बैठक बोलाएर विधानको मस्यौदा लगायत अन्य प्रतिवेदनमाथि छलफल हुन्छ, त्यसका लागि कम्तीमा पनि ४–५ दिन समय लाग्छ ।’ छठ पर्व कात्तिक २७ गते पर्छ । यस आधारमा छठ पर्वअघि विधानको मस्यौदा र विभिन्न प्रतिवेदनमाथि छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने अनुकूल समय देखिँदैन ।

कात्तिकको अन्त्यतिर केन्द्रीय कार्यसमिति बैठक बोलाउने हो भने छलफलका लागि ४–५ दिनको समय कम्तीमा पनि लाग्ने भएकाले निर्धारित मिति (मंसिर ५) मा महासमिति बैठक आयोजना गर्न सम्भव नदेखिएको हो । गत भदौमै मंसिर ५ का लागि महासमिति बैठक मिति तय भएको हो । भदौदेखि नै इमानदारीपूर्वक तयारी गरिएको भए अहिले महासमिति बैठक अन्योलमा पर्दैनथ्यो । गुटबन्दीका कारण पार्टीको विधानलाई कस्तो बनाउने र सभापतिलाई कति अधिकार दिने भन्नेजस्ता विवादमा रुमल्लिनुपर्दा अहिलेसम्म महासमिति बैठक सुनिश्चित हुन नसकेको हो ।

कहिले जुर्ला साइत ?

त्यसो त, पार्टीले महासमिति बैठक सर्ने औपचारिक घोषणा गरिसकेको छैन । पूर्वघोषित मितिमा महासमिति बैठक आयोजना गर्ने हो भने कांग्रेसका केन्द्रीय नेताहरूले तिहार, छठलगायतका पर्व मनाउन पाउने छैनन् । तत्कालका लागि त्यो सम्भावना देखिएको छैन ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले निर्णय गर्नुअघि नै महासमिति बैठकबारे अड्कलबाजी गर्नु उचित नहुने बताए । ‘समय कम छ, केही काम बाँकी छन्,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठक बस्दैछ, त्यहाँ यसबारे छलफल गरी आवश्यक निर्णय हुन्छ ।’

उनले महासमिति बैठक सर्न पनि सक्ने बताए । ‘मस्यौदा समितिले काम सकेपछि केन्द्रीय सदस्यहरूलाई अध्ययनका लागि मस्यौदा उपलब्ध गराउँछ,’ उनले भने, ‘सदस्यहरूलाई मस्यौदा अध्ययन गरेर धारणा बनाउन केही दिन अवश्य समय चाहिन्छ, यस हिसाबले समय कम छ । एक हप्ताअघि नै मस्यौदा समितिको काम सकिएको भए महासमिति बैठक सजिलैसँग पूर्वनिर्धारित मितिमै गर्न सकिन्थ्यो ।’ महासमिति बैठक सर्ने नै भयो भने पनि एक–डेढ हप्ता पर धकेलिन सक्ने उनले बताए । ‘सर्ने भयो भने पनि अनिश्चित नै हुने गरी सर्ने होइन,’ उनले भने, ‘तयारीका लागि जति समय अपुग देखिन्छ, त्यतिमात्र धकेलिने हो ।’

केन्द्रीय सदस्य गुरुराज घिमिरे महासमिति बैठक सर्ने हल्ला आफूले पनि सुनेको बताउँछन् । ‘औपचारिक जानकारी नआए पनि हल्ला मैले पनि सुनेको छु,’ उनले भने, ‘राजनीतिक कारणले हो वा प्राविधिक कारणले सार्न लागिएको हो, त्यो बुझेपछि मात्र टिप्पणी गर्नु उचित हुन्छ ।’

महासमिति बैठक अघि विधानको मस्यौदा, विभिन्न प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गर्नुपर्ने वैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले भने, ‘यी सब प्रक्रियाका लागि समय नपुगेर बैठक सार्न लागिएको हो भने आपत्ति जनाइरहनु ठीक होइन, कसैको स्वार्थका लागि राजनीतिक उद्देश्यबाट सार्न खोजिएको हो भने त्यो गलत हो ।’ सकेसम्म निर्धारित मितिमै महासमिति बैठक आयोजना गरेर पार्टीलाई एउटा प्रस्ट दिशा दिन सक्नुपर्ने उनले बताए ।

पार्टीले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिसकेको छ । बैठक राजधानीस्थित भृकटीमण्डपमा गर्ने निर्णयसमेत भइसकेको छ । 


Views: 104