19th November | 2018 | Monday | 1:56:16 AM

‘दुई तिहाइ हुँदा पनि खोइ काम ?’

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (1:47:36 PM)

‘दुई तिहाइ हुँदा पनि खोइ काम ?’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वतर्मान सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गोदावरी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिबाट संयुक्तरूपमा सोमबार शुभ दीपावली, नेपाल संवत्–११३९ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले दुई तिहाइको सरकार भए पनि जनअपेक्षा बमोजिम काम गर्न नसक्नु दुःखद भएको बताए । उनले भने, ‘वर्तमान सरकारले जनताले दिएको अभिमतको कदर गर्न नसक्नु सरकारको कमजोरी हो ।’ 

कांग्रेसले लिएको समाजवादको बाटोलाई कम्युनिस्ट पार्टीले समेत स्वीकार गर्दै अघि बढेकोमा कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले धन्यवाद दिए ।  यद्यपि दुई तिहाइको सरकारले जुन गतिमा काम गर्नुपथ्र्यो त्यो गर्न नसकेकोमा आलोचना गरे । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले अर्थतन्त्रको विकासवाट मात्र विकास निर्माणका कामहरू सम्भव हुने बताए । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई असर पर्ने गरी जहाँतहीँ कर वृद्धि गरेकोमा आक्रोश पोखे । करको दायरा बढाउन सके अर्थतन्त्र मजबुत हुने उनको धारणा थियो । 

ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले सबैले आआफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गरे कांग्रेस बलियो हुने बताए । संकुचित धारणा र विचारले देशको विकास हुन सक्ने बताउँदै उनले दृष्टिकोणलाई फराकिलो बनाउनुपर्ने जनाए । कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति एवं गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले नगरपालिका विकास निर्माणमा सबै नगरवासीको साथ र सहयोग अनिवार्य रहेको बताए । उनले शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिदैं विकास निर्माणमा जनप्रतिनिधिलाई सक्दो सहयोग गर्न अनुरोध गरे । 


Views: 34