19th November | 2018 | Monday | 1:56:25 AM

कांग्रेस बैठक आज, पौडेल निवासमा छुट्टै रणनीति

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (2:12:10 PM)

कांग्रेस बैठक आज, पौडेल निवासमा छुट्टै रणनीति

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको अघिल्लो दिन सोमबार सो पार्टीका नेता रामचन्द्र पौडेल पक्षधर नेताको छुट्टै भेला भएको छ । पौडेल निवास बोहोराटारमा भएको भेलामा पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, गगन थापालगायत नेताको सहभागिता रहेको थियो । बैठकमा नेता कृष्णप्रसाद सिटौला भने सहभागी थिएनन् । उनी आप्mना भान्जा बिरामी भएका कारण झापा गएको बताइएको छ ।

मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि उनीहरूले आप्mनो धारणा तय गर्न छुट्टै भेला गरेका हुन् । कांग्रेस बैठकमा महासमिति बैठकको मितिबारे छलफल हुँदैछ । त्यस्तै विधान संशोधन मस्यौदाबारे पनि छलफल हुने कार्यक्रम रहेको छ । भेलाका एक सहभागीले विधान, संगठन संरचना लगायतका विषयमा सोमबार छलफल भएको जानकारी दिए । कांग्रेसको महासमिति बैठकको मिति आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने तय भएकोमा नेताहरूले सो बैठक सर्ने संकेत गरिसकेका छन् । यसले गर्दा कार्यकर्ता पंक्तिमा भने निराशा छाएको छ । गएको निर्वाचनमा कांग्रेसको पराजयलाई लिएर त्यसको समीक्षा गर्न बस्ने भनिएको महासमिति बैठक यसरी पछि धकेल्दा पार्टीले मुख्य अजेन्डा समाउन नै नसकेको जस्तो देखिएको कार्यकर्ता पंक्तिकै आरोप रहेको छ । 

मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तोक्ने जनाइएको छ । महासमिति बैठक सार्नकै लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको स्रोतले जनाएको छ । पार्टीको विधान संशोधनको मस्यौदा समयमै तयार नभएका कारण महासमिति बैठक सार्न लागिएको हो । 

पार्टीलाई संघीय संरचनामा लैजान र संगठन पुनर्संरचनाका लागि विधान संशोधनको तयारीमा रहेको कांग्रेसभित्र विधान संशोधनको मस्यौदाबारे पनि तीव्र मतभेद देखिएको छ । संस्थापन पक्षले सभापतिलाई शक्तिशाली बनाउन खोजिरहेका समयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरू भने केन्द्रीय कार्यसमितिका अधिकांश सिटमा लोकतान्त्रिक विधिबाट सदस्य चयन गर्नुपर्ने पक्षमा छन् । यही विवादका कारण विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ११ सदस्यीय विधान संशोधन मस्यौदा समितिले विधान संशोधनको मोटामोटी खाका तयार पारिसकेको छ । समितिअन्तर्गत तीनवटा उपसमितिसमेत गठन गरेको थियो । प्रत्येक प्रदेशमा पुगेर समिति र उपसमितिले सुझाव संकलन गरी प्राप्त सुझावको आधारमा मस्यौदाको खाका तयार पारेको हो । समितिमा रहेका एक सदस्यका अनुसार करिब ९० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम तीन–चार दिनभित्रै सक्ने लक्ष्य रहेको बताइएको छ ।

कात्तिकको अन्त्यतिर अर्को केन्द्रीय कार्यसमिति बैठक बोलाउने हो भने छलफलका लागि ४–५ दिनको समय कम्तीमा पनि लाग्ने भएकाले निर्धारित मिति (मंसिर ५) मा महासमिति बैठक आयोजना गर्न सम्भव नदेखिएको हो । गत भदौमै मंसिर ५ का लागि महासमिति बैठक मिति तय भएको हो । भदौदेखि नै इमानदारीपूर्वक तयारी नगरिएकोले नै अहिले महासमिति बैठक सार्नुपर्ने अवस्था आएको भन्दै संस्थापन पक्ष इतरका नेताहरूले आक्रोश पोख्दै आएका छन् । 

अब  कांग्रेस पहिलो : कोइराला

यसैबीच, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आउँदो निर्वाचनमा कांग्र्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा कांग्र्रेस ठूलो दल बन्ने दाबी गरे । 

उनले कांग्र्रेसको महासमिति बैठक सर्ने पनि बताए । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्छ भने । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उनले बताए । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरूसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए । 

कांग्र्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने, ‘नेकपा एमाले र माओवादी मिल्दा पनि कांग्र्रेस एकबद्ध भएको खण्डमा कांग्र्रेसलाई जित्न सक्दैनन् ।’ कम्युनिस्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले थपे, ‘अहिले आएको परिवर्तनका कारण उनीहरूमा परिवर्तन देखिएको हो तर उनीहरू लोकतन्त्रवादी होइनन् ।’ 

फरक प्रसंगमा बोल्दै उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी हल बन्न नदिने बताए । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्ने भन्दै उनले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गराए । उनले भने, ‘यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु । यहाँ बनाउन उपयुक्त हँुदैन ।’

 


Views: 46