19th December | 2018 | Wednesday | 12:33:25 AM

हिन्दुहरुको धैर्य टुट्यो भने ठिक हुँदैन : कमल थापा

पुरन साह   POSTED ON : Thursday, 06 December, 2018 (5:44:44 PM)

हिन्दुहरुको धैर्य टुट्यो भने ठिक हुँदैन : कमल थापा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् । 

बिहिवार जनकपुरमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा बढेको दाबी गरे ।

 उनले हिन्दु धर्मको एक विशेषता भनेको सहनशिलता समेत रहेको बताउँदै हिन्दुहरुको धैर्यको सिमा टुटे देशमा द्वन्द्व हुने बताए ।

अध्यक्ष थापाले २०६२÷०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठेपनि  विदेशीको ईशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए । उनले जनआन्दोलनपछि १२ वर्षमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दावी गर्दै यसरी धर्म परिवर्तन बढ्दै गए मुलुक धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने चेतावनी दिए ।

अध्यक्ष थापाले आगामी फाल्गनु ७ गते देखि राप्रपाले हिन्दुराष्ट्र निर्माणका लागि संघर्षका कार्यक्रम गर्ने भन्दै १ बर्षभित्र संगठन सुदृढिकरण अभियान, पार्टी इकाईको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए । पार्टी एकीकरणबारे अध्यक्ष थापाले पशुपति शम्शेर जबराले नै विभिन्न बखेडा झिकेर भाग्न खोजेको आरोप लगाएका छन् । वर्तमान सरकार पुर्णरुपमा असफल भइसकेको समेत कमल थापाको दावी थियो ।


Views: 67