19th December | 2018 | Wednesday | 1:57:30 AM

सरकारको आलोचना गरेर, धर्मको कुरा उठाएर संघीयता उल्टाउन सकिन्न : प्रचण्ड

चन्द्रकान्त खनाल   POSTED ON : Thursday, 06 December, 2018 (9:09:31 PM)

सरकारको आलोचना गरेर, धर्मको कुरा उठाएर संघीयता उल्टाउन सकिन्न : प्रचण्ड

रुपन्देही  । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध पूर्वाग्रही र नकारात्मक ढंगले प्रचार भएको बताएका छन् । 

सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारबाट रुपन्देही सदरमुकाम भैरहवामा सुरु भएको सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै दाहालले जनचाहना अनुसार तीव्र काम हुन नसके पनि काम नै भएन भनेर सरकारको गलत प्रचार भइरहेको बताए । 

उनले छिमेकी राष्ट्र भारतसँग रेलवे विस्तार, विराटनगरको भारतीय क्याम्प सार्ने र चीनसँग सुक्का बन्दरगाहा निर्माण जस्ता ऐतिहासिक सम्झौता गरिएको बताउँदै नेपाल भूपेरिबेष्ठित राष्ट्र भए पनि जमिनबाट समुन्द्र सतह सम्म जोड्ने गरी सरकारले काम गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको आलोचना गरेर, धर्मका कुरा उठाएर संघीयतालाई नै उल्टाई हालिन्छ भन्ने कसैले कल्पना गरेको भए त्यो पुरा नहुने बताए । उनले विरोधका लागि विरोध गर्नुभन्दा सबै मिलेर जनताको भावना र मुलुकलाई समृद्धितर्फ लाग्न एकजुट हुुनु पर्ने बताए । अध्यक्ष दाहालले विगतमा सबै दलहरु मिलेर नै मुलुकलाई यहाँ सम्म ल्याइएको बताउँदै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न काँग्रेस लगायतका दलहरुसँग छलफल भइरहेकाले छ्ट्टिै टुंगोमा पुगिने बताए । 

अध्यक्ष दाहालले लुम्बिनीबाट विश्वलाई शान्तिको सन्देश दिनुपर्ने बताए । कार्यक्रममा नेकपा नेता तथा सांसद घनश्याम भुसालले उद्योगी व्यवसायीको लगानी सुरक्षित गर्न जरुरी रहेको बताए । उनले सरकारले तीव्ररुपमा काम गर्न नसकेको आरोप समेत लगाए । भुसालले जनपक्षीय काम गर्न नसक्दा राणादेखि राजाले सत्ता त्याग्नु परेको स्मरण गर्दै सरकारले त्यसलाई ख्याल गर्दै काम गर्नु बताए ।

भुसालले हरेक नेपालीका छोराछोरीलाई रोजगारीको ग्यारेन्टी नहुँदासम्म परिवर्तन भएको नठहरिने जनाए । काँग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप लगाउँदै काम गर्नुको सट्टा धर्म प्रचारमा लागेको आरोप लगाए । 

संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले पर्यटक, उद्योग र कृषि नै नेपालको समृद्धिको आधार भएको बताए । न्यौपानेले पर्यटन क्षेत्रमा प्रभाव पार्ने आयोजनाहरु समयमै सम्पन्न गराउन पहल गर्न आग्रह गरे । उनले उद्योगी व्यवसायी मैत्री वातावरण बनाउन आग्रह समेत गरे । पौस १ गते सम्म चल्ने महोत्सवमा, कृषि प्रदर्शनी, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, भैरहवा आइडल र नृत्य प्रतियोगिता मेलाका आकर्षक हुन् । यस्तै कुस्ती प्रतियोगिता, मायादेवी र रानी महलको आकृति पनि मेलाका आकर्षक हुन् । मेलामा २७५ स्टल रहेका छन् । 


Views: 47