22nd July | 2019 | Monday | 5:24:35 PM

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार : प्रधानमन्त्री ओली

  POSTED ON : पुष २७, २०७५ (३:४१ AM)

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

२९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । शुभकामना सन्देशमा उनले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गरे ।

“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।”


Views: 72