24th July | 2019 | Wednesday | 2:41:21 PM

बमजनको सिन्धुलीस्थित आश्रममा पुग्यो प्रहरी, दुईजनासँग सोधपुछ

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७५ (६:१७ AM)

बमजनको सिन्धुलीस्थित आश्रममा पुग्यो प्रहरी, दुईजनासँग सोधपुछ

सिन्धुली । ‘तपस्वी’ का रूपमा चिनिएका रामबहादुर बमजनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको सम्बन्धमा अनुसन्धानमा जुटेको प्रहरीले सिन्धुलीस्थित आश्रममा पुगेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले बिहीबार बमजनको सिन्धुलीस्थित आश्रममा रहँदै आएका दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

बमजनको आश्रमबाट उनका केही अनुयायी बेपत्ता भएका तथा केहीले आफूमाथि यौन दुव्र्यवहारसमेत भएको आरोप लगाएपछि अनुसन्धानमा जुटेको प्रहरीले सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिएको हो । सञ्चार माध्यममार्फत सार्वजनिक भएका विभिन्न घटनाबारे अनुसन्धानका लागि सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने क्रममा प्रहरीको टोली उक्त आश्रममा पुगेको हो ।

केही दिनअघि प्रहरीले बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उक्त आश्रम परिसरबाट केही शंकास्पद बस्तु फेला परेपछि प्रहरीले उनको सिन्धुलीस्थित अर्को आश्रम केन्द्रित अनुसन्धान अघि बढाएको हो । पीडित परिवारका अनुसार सिन्धुपाल्चोकस्थित आश्रमबाटै मकवानपुरका सञ्चलाल वाइबा बेपत्ता भएका थिए । उनको हत्या भएको आशंका गरिएको छ । चरम यातना दिएर आश्रममै उनको हत्या भएको र सोही आश्रम आसपास शव गाडिएको विवरण पूर्वअनुयायीहरूले सार्वजनिक गरेका हुन् । सिन्धुपाल्चोकस्थित आश्रममा अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद स्थानमा उत्खनन् समेत गरेको थियो । उत्खनन् गर्दा नुनको नौवटा खाली प्याकेट फेला परेको बताइन्छ । शव गलाउनका लागि खाडलमै नुन हालेर गाडिएको आशंका गरिएको छ ।

प्रहरी नायब उपरीक्षक विमल कँडेल नेतृत्वमा परिचालित टोलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा सिन्धुलीस्थित आश्रममा अनुसन्धान थालेको हो । सोही क्रममा प्रहरीले आश्रमका ‘महात्मा’ भनिने इन्द्रबहादुर स्याङ्तान र गोपाल योञ्जनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आवश्यक सोधपुछपछि दुवैलाई प्रहरीले रिहा गरेको प्रहरीले स्रोतले जनाएको छ । सञ्चलाललाई यातना दिने क्रममा इन्द्रबहादुरसमेत संलग्न रहेको बताइएको थियो ।

बमजन सोही आश्रममा रहेको बताइए पनि प्रहरीले उनीसँग भेट नभएको जनाएको छ । ‘आश्रममा रहेका व्यक्तिहरूले बमजन सोही आश्रममा रहेको जानकारी दिएका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘हामीले तत्काल बमजनसँग भन्दा पनि उनका बारेमा सञ्चारमाध्यममा आएका विषय र पीडित पक्षले गरेको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान र तथ्यगत आधारहरू केलाउनुपर्ने भएकाले सोहीअनुसार आवश्यक व्यक्तिसँग सोधपुछ गरेका हौं ।’

यसैबीच, प्रहरीले सिन्धुपाल्चोकस्थित आश्रममा पनि अनुसन्धानलाई जारी राखेको छ । प्रहरीको एउटा टोलीले उक्त आश्रममा अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार तालिमप्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको छ ।


Views: 64