27th March | 2019 | Wednesday | 6:34:18 AM

नयाँ मर्यादाक्रम तोकियो

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७५ (६:३७ AM)

नयाँ मर्यादाक्रम तोकियो

काठमाडौं । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको नयाँ मर्यादाक्रम तोकेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार हालै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मर्दादाक्रम निर्धारण गरेको हो । मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जनाएअनुसार मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री छन् । त्यस्तै, चौथो नम्बरमा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् । पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्व अध्यक्षहरूलाई पाँचौं नम्बरमा राखिएको छ । प्रदेश प्रमुखलाई आफ्नो प्रदेशभित्रका लागि छैठौं नम्बरमा राखिएको छ । 

मर्यादाक्रमको सातौं नम्बरमा केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री (आफ्नो प्रदेशभित्र), प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर) प्रतिनिधिसभा विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरू, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता, पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्रीहरूलाई राखिएको छ । 

प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन् । अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्री लगायत दसौं नम्बरमा छन् ।

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ । नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७ औं नम्बरमा छन् ।

मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् ।

स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूको मर्यादाक्रम हेरफेर गरेको थियो । गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा तल राखेको भन्दै विवाद उत्पन्न भएको थियो । 

केसीलाई उत्सव मनाउन आग्रह

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशन बसिरहकेका डा. गोविन्द केसीलाई अनशन नभई उत्सव मनाउन सरकारले आग्रह गरेको छ । चिकित्सा शिक्षासँग जोडिएका अधिकांश माग पूरा भइसकेको दाबी गर्दै मन्त्री बाँस्कोटाले डा. केसीलाई अनशन छाडेर उत्सव मनाउन आग्रह गरेका हुन् । 

कांग्रेस सरकारकै पालामा डा. केसी ८ पटकभन्दा बढी अनशन बसिसकेको भन्दै मन्त्री बास्कोटाले केसीले राखेका अहिलेका माग विशुद्ध नभएको आरोप लगाए । ‘विषय अनेक जोडिएर आएका छन् । खिचडी पनि हो कि तपाईंहरूले पनि हेर्नुहोला,’ उनले बास्कोटाले भने ।

सरकारले विभिन्न अस्पताल सञ्चालनका लागि गठन भएका स्वास्थ्य मन्त्रालय अन्तर्गतका विकास समितिहरूलाई संघ (केन्द्र सरकार) अन्तर्गत ल्याउने निर्णय गरेको छ । देश संघीयतामा गएसँगै स्वास्थ्य संस्थाहरूको सञ्चालनमा स्थानीय तहलाई दिने गरी कानुन बने पनि उपत्यकाभित्र रहेका ठूला स्वास्थ्य संस्थाहरूलाई संघ मातहतमा ल्याउने निर्णय सरकारले गरेको हो ।

यो निर्णयसँगै कान्ति बाल अस्पताल काठमाडौं, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिंहदरबार वैद्यखाना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र अब संघ अन्तर्गत रहने भएका छन् । त्यस्तै मानसिक अस्पताल ललितपुर, नरदेवी आयुर्वेद अस्पताल, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र पनि संघअन्तर्गत रहने भएका छन् ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले सातजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जनाए । त्यस्तै दूरसञ्चार (आठौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिइएको छ । यसैगरी नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

कंसाकार तत्काल निलम्बन नहुने

वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई सरकारले तत्काल निलम्बन नगर्ने जनाएको छ ।

उपसमितिको सुझावको आधारमा संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिए पनि यसबारे न्यायिक आयोग गठन गरिएकाले तत्काल कुनै निर्णय नलिइने मन्त्री बास्कोटाले जानकारी दिए । सरकारले उक्त विषयको जाँचबुझ गर्न पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो । 

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त नगरेको पनि मन्त्री बास्कोटाले जानकारी दिए । ‘शेर्पाको विषयमा छानबिन समिति गठन भएको छ र प्रतिवेदनसमेत आएको छ,’ उनले भने, ‘उहाँ कूटनीतिक व्यक्तिमात्र होइन, राजनीतिक आवद्धता पनि भएकाले उनलाई नै त्यस विषयमा निकास दिन भनिएको छ ।’


Views: 91

सम्बन्धित सामग्री:

विप्लवका तीन कार्यकर्ता पक्राउ

: चैत्र १२, २०७५ (११:२५ AM)

बलात्कार गरेको आरोपमा पक्राउ

: चैत्र १२, २०७५ (१०:५१ AM)