22nd January | 2019 | Tuesday | 10:52:25 AM

नेविसंघ महाधिवेशन फेरि सार्ने तयारी

हिमालय टाइम्स   POSTED ON : Friday, 11 January, 2019 (1:45:22 PM)

नेविसंघ महाधिवेशन फेरि सार्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन फेरि सार्ने तयारी भएको छ । दोस्रो पटक थप गरिएको समयावधिमा पनि महाधिवेशन सम्भव नभएपछि अर्को मिति तोक्नुपर्ने अवस्था आएको हो । दोस्रो पटक नेविसंघ केन्द्रीय समितिको म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिएको थियो । हालसम्म नेविसंघले १४ जिल्लामा मात्रै विधिवत रूपमा अधिवेशन सम्पन्न गरेका कारण घोषित मितिमा महाधिवेशन हुन नसक्ने देखिएको हो । नेविसंघ केन्द्रीय समितिको दोस्रो पटक थप गरेको २ महिनाको कार्यकाल माघ २ गते सकिँदैछ । थप गरिएको म्याद सकिनै लाग्दा पनि कांग्रेसले नेविसंघको बारेमा चालिने कदमको विषयमा अहिलेसम्म औपचारिक रूपमा छलफल गरेको छैन । पार्टीले आगामी माघ २ गतेसम्म कुनै निर्णय नगरे नेविसंघ स्वतः विघटन हुनेछ ।

पार्टीले गत भदौ २ गते विधानतः नेविसंघको कार्यकाल तीन महिना थप गरेको थियो । सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको नेविसंघ निर्देशन समितिले अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको दुई वर्षीय कार्यकाल भदौ २ गते सकिएलगत्तै महाधिवेशन प्रयोजनका लागि तीन महिना थप गरेको थियो । म्याद थप गरिएपछि नेविसंघले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको थियो । पार्टीले गठन गरेको निर्देशन समितिको परामर्शमा महाधिवेशनका लागि मिति तोकिए पनि केही मावि बाहेक कतै पनि अधिवेशन गर्न नसक्दा दोस्रो पटक म्याद थप्नुपरेको थियो । 

समयावधि सकिनै लाग्दा पनि पार्टीभित्र वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने कि तदर्थ समिति गठन गर्ने भन्ने विवाद देखिएको छ । संस्थापन पक्षले नेविसंघको म्याद थपका बारेमा कुनै छलफल नभएको बताएको छ भने संस्थापन इतर समूहले आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गरेर अहिलेकै कार्यसमितिलाई निरन्तरता दिनुको विकल्प नभएको प्रतिक्रिया दिएको छ । 

‘त्रिविले स्ववियु निर्वाचनको तयारीका लागि क्याम्पसहरूलाई पत्राचार गरिसकेको अवस्थामा अहिलेकै कार्यसमितिको म्याद फेरि थप गरिनुपर्छ भन्ने हाम्रो धारणा हो,’ महत संयोजक रहेको निर्देशक समितिमा संस्थापन इतर समूहबाट प्रतिनिधित्व गर्ने एक सदस्यले हिमालय टाइम्सलाई भने । 

सिटौला समूह निकट रहेका नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले पनि म्याद थपिनु पर्ने पक्षमा देखिन्छन् । ‘जुटेको कम्युनिस्ट विद्यार्थी संगठनहरूसँग क्याम्पस–क्याम्पसमा डिफेन्स गर्नपर्ने भएकाले हामीहरू जुटेर स्ववियु निर्वाचनमा जानु पर्छ,’ उनले भने, ‘यस्तो अवस्थामा अहिलेकै कार्यसमितिको म्याद थप गरेर जाँदा उचित हुन्छ । स्ववियु चुनावमा लोकतन्त्रवादीहरूको बलियो उपस्थिति देखाउनका लागि भावनात्मक रूपमा एक्ताबद्ध हुनुको विकल्प छैन ।’  

नेविसंघ निर्देशन समितिका संयोजक सहमहामन्त्री डा. महतले भने नेविसंघको बारेमा पार्टीमा कुनै छलफल नभएको बताए । उनले सभापति शेरबहादुर देउवासँग छलफल गरेर महर नेतृत्वको कार्यसमितिका बारेमा निर्णय गरिने जानकारी दिए । ‘नेविसंघका बारेमा केही कुरा भएको छैन । सभापतिज्यूसँग सल्लाह गरेर निर्णय गर्छौं,’ उनले भने । म्याद थप गर्ने कि तदर्थ समिति गठन गर्ने भन्ने बारेमा माघ २ गते अगाडि नै पार्टीले निर्णय गर्ने उनको भनाइ छ । 

पछिल्लो समय अन्य भ्रातृ संगठनहरूमा नेतृत्व गुम्दै गएपछि कांग्रेसको संस्थापन पक्षले सबैभन्दा शक्तिशाली मानिने भ्रातृ संगठन नेविसंघलाई विघटन गरी तदर्थ समिति गठन गर्न खोजेको छ । दोस्रो पटक थप गरिएको दुई महिनाको अवधिमा अधिवेशन सम्पन्न भएका १४ जिल्लाहरूमा पनि संस्थापन पक्ष कमजोर देखिएको छ । 

अधिवेशन सम्पन्न भएका जिल्लामध्ये ९ जिल्लामा संस्थापन इतर समूहको नेतृत्व आएको छ भने ५ जिल्लामा मात्रै संस्थापन पक्षले नेतृत्व लिएको छ । अधिवेशन सम्पन्न भएका अन्य जिल्लाहरू मुस्ताङ, झापा, पाँचथर, भोजपुर, गोरखा, अर्घाखाँची, प्युठान, पूर्वी रुकुम र दार्चुलामा संस्थापन इतर समूहको नेतृत्व आएको छ । अधिवेशन सम्पन्न भएकामध्ये ताप्लेजुङ, जाजरकोट, हुम्ला, डोल्पा र बैतडीमा संस्थापन पक्षले नेतृत्व लिएको छ ।

कांग्रेसले नेविसंघमा ३२ वर्ष उमेरहद लागू गर्ने निर्णय बहुमतका आधारमा केन्द्रीय कार्यसमितिबाट पारित गरेपछि पाका विद्यार्थी नेताहरू अध्यक्षको दौडबाट स्वतः बाहिरिएका छन् । पाका नेताहरू अध्यक्षको दौडबाट बाहिरिएपछि ३२ वर्ष नपुगेका विद्यार्थी नेताहरू नेविसंघको अध्यक्षका लागि दाबेदारी प्रस्तुत गर्दै देश दौडाहा गरिरहेका छन् । 

नेविसंघको संस्थापन पक्षबाट उपाध्यक्ष पवन यादव तथा सहमहामन्त्रीत्रय प्रेमराज जोशी, अम्बिका चलाउने र प्रकाश घिमिरेको नाम भावी अध्यक्षको दौडमा समावेश भएको छ । उपाध्यक्ष यादव कांग्रेस उपसभापति विमलेन्द्र निधि र नेविसंघका अध्यक्ष महर निकट मानिन्छन् । सहमहामन्त्री जोशीलाई कांग्रेस सहमहामन्त्री महतका विश्वासपात्र मानिन्छ भने अर्का सहमहामन्त्री घिमिरेलाई संस्थापनभित्र महत इतरका नेताहरूको साथ रहेको देखिन्छ । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुखसमेत रहेकी सहमहामन्त्री चलाउनेलाई अध्यक्ष महरको साथ छ । 

कांग्रेसको पौडेल समूहबाट नेविसंघको नेतृत्वका लागि उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल र पुनम लामा आकांक्षी देखिएका छन् । उपाध्यक्ष परियार कांग्रेस महामन्त्री शशांक कोइराला निकट हुन् भने कोषाध्यक्ष रिमाल र लामालाई वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वासपात्रका रूपमा हेरिन्छ । 

कांग्रेसको सिटौला पक्षबाट केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, दुजाङ शेर्पा, नवराज त्रिपाठी, निमा गिरी अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरिहेका छन् । ३२ वर्षे उमेरहद लागू भएपछि महामन्त्री काफ्ले नेविसंघको नेतृत्व दौडबाट स्वतः बाहिरिएका कारण सिटौला समूहबाट धेरै विद्यार्थी नेताहरूले दाबेदारी प्रस्तुत गरिरहेका छन् । 

सिटौला समूहबाट दाबेदारी प्रस्तुत गरिरहेकामध्ये भट्ट कांग्रेसका नेताहरू अर्जुननरसिंह केसी र प्रदीप पौडेलसँगको निकट सम्बन्धमा छन् । उनलाई महामन्त्री काफ्लेको पनि साथ देखिएको छ । यस्तै अर्का दाबेदार थापा नेता केसी निकट छन् । सिटौला समूहभित्र सापकोटालाई प्रदीप पौडेल र गगन थापा निकट, शेर्पालाई कृष्ण सिटौला र गगन थापा निकट, त्रिपाठीलाई गगन थापा र प्रदीप पौडेल निकट र गिरीलाई गगन थापा निकटका रूपमा हेरिन्छ । 


Views: 35