22nd July | 2019 | Monday | 6:38:28 PM

जापानी विदेशमन्त्रीबाट सम्पदाहरुको अवलोकन

रमा लुइँटेल   POSTED ON : पुष २७, २०७५ (६:५३ AM)

जापानी विदेशमन्त्रीबाट सम्पदाहरुको अवलोकन

ललितपुर । जापानी विदेशमन्त्री तारो कोनोले ललितपुर महानगरपालिकामा रहेको पाटन दरबार स्क्वायरस्थित सम्पदाहरुको बिहीबार अवलोकन गरेका छन् । विदेशमन्त्री कोनोलाई महानगरका मेयर चिरीबाबु महर्जन, उपमयेर गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायतले स्वागत गरेका थिए । 

विदेशमन्त्री कोनोले पाटन दरबार स्क्वायरमा रहेको मूलचोक, सुन्दरीचोक, भण्डारखाल बगैंचा, पुनर्निर्माणको क्रममा रहेको कृष्ण मन्दिर, चार नारायण मन्दिरको कला र त्यसको महत्वकाबारे चासो राखेका थिए । यस्तै उनले विश्वेश्वरा तथा गंगाहिटीको बारेमा पनि जानकारी लिएका थिए । उनले  काष्ठकला, धातुकला तथा ढुंगामा खोपिएका कलाको रुचीपूर्वक अध्ययन गरेका थिए ।

महानगरका सम्पदा सल्लाहकार डा रोहित रंजितकारले २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका पाटन दरबार स्क्वायरका सम्पदाको पुनर्निर्माण सन्दर्भमा कोनोले चासो व्यक्त गरेको बताए । रोहितले कोनोलाई सम्पदाको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्पदाका बारेमा विदेशमन्त्री कोनो उत्सुक भएको आफूले पाएको बताए । कोनो पाटनको कला, संस्कृतिबाट प्रभावित भएको बताउँदै अर्को पटकको भ्रमणमा पाटनका लागि एक दिन छुट्याउने प्रतिबद्धता व्यक्त गरेको मेयर महर्जनले बताए । मेयर महर्जनले  नेपालको टेन्डर प्रक्रिया र सम्पदा, भूकम्पपछिको सम्पदा पुनर्निर्माणका सन्दर्भमा छलफल भएको बताए । २८ सदस्यीय प्रतिनिधिमण्डलसहित कोनो नेपाल आएका हुन् । 


Views: 62