22nd January | 2019 | Tuesday | 10:42:37 AM

नेविसंघका सात पदाधिकारीले देउवालाई बुझाए राजीनामा

हिमालय टाइम्स   POSTED ON : Friday, 11 January, 2019 (7:02:51 PM)

नेविसंघका सात पदाधिकारीले देउवालाई बुझाए राजीनामा

काठमाडौं । नेविसंघका सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् ।

तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

देउवा निकट मानिएका उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

राजीनामा बुझाउन उनीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । 

तोकिएको मितिमा अधिवेशन गर्न नसकेका कारण निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएको उनीहरुको भनाइ छ । 

पार्टीले गत भदौ २ गते विधानतः नेविसंघको कार्यकाल तीन महिना थप गरेको थियो । सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको नेविसंघ निर्देशन समितिले अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको दुई वर्षीय कार्यकाल भदौ २ गते सकिएलगत्तै महाधिवेशन प्रयोजनका लागि तीन महिना थप गरेको थियो । म्याद थप गरिएपछि नेविसंघले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको थियो । तर तोकिएको समयमा आन्तरिक विवादका कारण महाधिवेशन हुन सकेन ।

समयावधि सकिनै लाग्दा पनि पार्टी्भित्र वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने कि तदर्थ समिति गठन गर्ने भन्ने विवाद देखिएको अवस्थामा कार्यकारी समितिका सात जना पदाधिकारीले राजीनामा दिएसँगै यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Views: 62