25th June | 2019 | Tuesday | 11:13:32 AM

किन टुक्रियो विवेकशिल साझा ?

हिमालय टाइम्स   POSTED ON : पुष २८, २०७५ (१०:११ AM)

किन टुक्रियो विवेकशिल साझा ?

काठमाडौं । एकीकरण भएको दुई वर्ष नपुग्दै विवेकशील साझा पार्टी फुटेर दुई टुक्रा भएको छ । रविन्द्र मिश्र र उज्ज्वल थापाको संयोजकत्वमा रहेको पार्टी शुक्रबार औपचारिक रूपमा विभाजन भएको हो । संयोजकमध्येका एक थापासहित विवेकशील साझाको केन्द्रीय कार्यसमितिका १६ जनाले शुक्रबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । विवेकशील साझाको केन्द्रीय कार्यसमिति ३७ सदस्यीय भए पनि चारजनाले यसअघि नै पदबाट राजीनामा दिइसकेका थिए । राजीनामा दिनेमा सरोज धिताल, ओमप्रकाश अर्याल, रेसु ढुंगाना र डा. दिनेश प्रसाईं छन् । 

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले थापाको नेतृत्वमा पुगेको टोलीले ‘विवेकशील नेपाली दल’ नाम गरेको नयाँ दल दर्ताका लागि निवेदन पेश गरेको पुष्टि गरेका छन् । स्रोतका अनुसार दल दर्ताका लागि थापासँगै युवा नेतृ रञ्जु दर्शना, प्रदेश ३ का सांसदहरू विराज भट्ट र रमेश पौड्याललगायतको टोली निर्वाचन आयोग पुगेको थियो ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीककरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । पार्टी एकीकरणपछि विवेकशील साझा पार्टीले आठ सदस्यीय संयोजन समिति गठन गरेर पार्टी सञ्चालन गर्दै आएका थियो । रविन्द्र मिश्र, उज्ज्वलबहादुर थापा, अनुषा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल र सूर्यराज आचार्य संयोजन समितिका सदस्य थिए । जसमध्ये थापा समूहमा अनुषा, गोविन्दनारायण र रमेश छन् ।

थापाले केही दिनअघिमात्रै पार्टी गलत बाटोमा हिँडेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमा सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरूद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै सीमित थोरै नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति र दलभित्रका सदस्यहलाई जिम्मेवारी दिन चरम हिच्किचाहट वा डर वा अनुदारताले दल हराएको जस्तो देखिएको उल्लेख थियो ।

थापाको १८ पृष्ठ लामो उक्त प्रतिवेदनमाथि छलफल नै नगरेर अर्का संयोजक मिश्रको समूहले केन्द्रीय कार्यसमितिमा थापा समूहलाई जानकारी नै नगराई पाँचजना नयाँ केन्द्रीय सदस्य थप गर्ने, विभाग भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिश गरेपछि थापाको समूहले नयाँ दल गठन गरेको बताइएको छ । पुस ३० गते बस्ने केन्द्रीय समिति बैठकमा संजोजक थापाको प्रतिवेदनमाथि छलफल हुने भन्ने थियो तर मिश्र समूहले पाँचजना नयाँ सदस्य बनायो,’ विवेकशील नेपाली दलका संस्थापकमध्येका एक नेताले भने, ‘मिश्र समूहले कार्यसमितिमा बहुमत पु¥याएर थापामाथि कारबाही गर्ने तयारी गरेको सूचना चुहिएपछि पार्टी फुटेको हो ।’

पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठन गर्दै पाँचजना केन्द्रीय सदस्य थप गरेको थियो । मिश्र समूहले महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ तथा पुरुषतर्फ ल्यामबहादुर दर्जी र इसुजंग कार्कीलाई केन्द्रीय सदस्यमा थप गरेको हो । संयोजन समितिको निर्णय अनुमोदन गर्न पुस ३० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापामाथि कारबाही गर्ने तयारी भएको सूचना चुहिएपछि थापा समूह छुट्टै पार्टी गठनको निष्कर्षमा पुगेको स्रोतको भनाइ छ । 

पार्टी विभाजनबारे प्रतिक्रिया जनाउँदै विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीमा रहेका मतभिन्नतालाई सम्बोधन गर्न पुस ३० गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको स्मरणसमेत गराएका छन् । 

‘हामीलाई आशा एवं विश्वास थियो–आगामी बैठकमा संयोजक थापालगायत केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ ।’ संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागीसमेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद् अवस्था भएको प्रवक्ता आचार्यले जनाएका छन् ।


Views: 107