24th July | 2019 | Wednesday | 2:22:09 PM

ललितपुरमा सफाइ अभियान

रमा लुइँटेल   POSTED ON : पुष २८, २०७५ (१०:१९ AM)

ललितपुरमा सफाइ अभियान

काठमाडौं । लगनखेल बसपार्क नजिकै प्रहरीहरू, प्रशासनिक व्यक्तिहरू, जनप्रतिनिधि लगायतका व्यक्तित्व सहभागी ठूलो समूह थियो । त्यो उपस्थितिबारे बटुवाले आफ्नैखाले लख काटिरहेका थिए । सार्वजनिक यातायातमा गुडिरहेकाहरू पनि ‘के भयो हँ’ भन्दै झ्यालबाट घाँटी तान्दै हेरिराखेका देखिन्थे । निजी सवारी धनीहरू आफ्नो साधनलाई विस्तारै गुडाएर हेरिराखेका थिए । 

पुसको ठण्डीलाई पर्वाह नगरी एकाबिहानै त्यो समूह उक्त चोकमा सफाइ अभियानका बारेमा सन्देश दिन जम्मा भएको थियो । ‘क्लिन काष्ठमण्डप’ अभियान एक वर्ष पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिकामा यो समूहले शुक्रबार सफाइ अभियान थालेको हो । यो ‘फोहोर टिप्ने होइन, फोहोर जथाभावी नफ्याँकौं’ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको क्लिन काष्ठमण्डप अभियानका मुख्य अभियन्ता केपी खनालले बताए । लितपुर महानगरपालिकासँगको सहकार्यमा सुरु गरेको सफाइ अभियानको पहिलो दिन लगनखेल चोकबाट मंगलबजारसम्म र मंगलबजारबाट लगनखेल हुँदै सातदोबाटोसम्म उक्त समूहले बाटोमा जथाभावी फ्याकिएको फोहोर संकलन गरेको थियो । अभियन्ता खनालले भने, ‘चेतनाका लागि यस्ता कार्यक्रम महŒवपूर्ण छ ।’ शिक्षाले मात्रै मान्छेको व्यवहार सुधार नहुने तर्क राख्दै उनले लेखपढ गरेका मान्छेले जथाभावी फोहोर फ्याक्ने गरेको बताए । 

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले जथाभावी फोहोर फ्याँक्नु सभ्यताविपरीत काम भएको बताए । उनले जथाभावी फोहोर फ्याक्नेलाइ जरिवाना लिएर दण्डित गर्ने कानुन भएको बताए । जथाभावी फोहोर नफ्याँकेर नगरलाई सफा र सुन्दर बनाउने अभियानमा सहयोग गर्न नगरवासीसँग उनले अनुरोध गरे । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले चेतनशील मान्छेले जथाभावी फोहोर नफ्याक्ने बताए । उनले प्रश्न गरे, ‘विदेशबाट गोजीमा हालेर ल्याएको चक्लेटको खोल एयरपोर्ट आएपछि जथाभावी फ्याँक्नेलाई के भन्ने ?’ फोहोरको व्यवस्थापन व्यक्तिको संस्कार र सभ्यतासँग जोडिएको विषय भएको बताउँदै शिक्षाले मात्रै पनि फोहोर जथाभावी फयाँक्ने बानी नहट्ने उनले बताए । उनले फोहोर व्यवस्थापनमा नगरवासीको सहयोग महŒवपूर्ण हुने धारणा राखे । 

चक्रपथ सफाइ अभियानका मुख्य अभियन्ता लोकबहादुर टण्डनले सहरलाई सुन्दर सहर बनाउन फोहोर व्यवस्थापन महŒवपूर्ण भएको बताए । सहरमा जथाभावी छरिएका र थुप्रिएका फोहोरको डंगुर सहरलाई कुरूप बनाएको उनले बताए । उक्त कार्यक्रममा सेना, प्रहरी सशस्त्र प्रहरी, विद्यार्थीलगायत विभिन्न संघसंस्थाको सहभागिता थियो । 


Views: 126