25th April | 2019 | Thursday | 8:39:53 AM

सदरमुकाम विवाद, चार दिनदेखि निषेधाज्ञा

हिमालय टाइम्स   POSTED ON : माघ २४, २०७५ (६:२५ AM)

सदरमुकाम विवाद, चार दिनदेखि निषेधाज्ञा

रुकुमकोट । रुकुमपूर्वको अस्थायी सदरमुकाम रुकुमकोटबासी चार दिनयता ‘निषेधाज्ञा’ झेल्दै आएका छन् । जिल्ला सदरमुकामबारे रुकुमकोटबासी र गोलखाडाबासीबीच हानथाप बढ्दै सडकमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले आइतबार अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच बुधबार गोलखाडा र आसपासका बासिन्दा ¥यालीसहित अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको निषेधित क्षेत्रबाहिर पुगेका थिए । सयौंको संख्यामा पुगेका उनीहरूले साँझ कोणसभासमेत गरेका थिए । कोणसभामा वक्ताहरूले सरकारले गरेको निर्णयअनुसार जिल्लाको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडालाई नै सदरमुकाम बनाउनुपर्ने माग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार सदरमुकाम सार्न माग गर्दै गोलखाडाबासीको ¥याली आएको सूचनापछि जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोकिएको स्थान बाहिरै भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूले स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘ज्ञापनपत्र बुझाउने भनेका थिए तर खै किन हो, बुझाएनन् ।’ शर्माका अनुसार ज्ञापनपत्र बुझाउने प्रस्ताव आएपछि जिल्ला प्रशासन कार्यालयमै केही प्रतिनिधिलाई ल्याउन गाडी पठाउने तयारी गरिएको थियो । ‘उनीहरूले सिडिओलाई यहीँ बोलाएर ज्ञापनपत्र दिने भनेर प्रस्ताव गरेछन्,’ शर्माले भने, ‘त्यसपछि म आफैं त्यहाँ पुगेँ, उहाँहरू नबुझाईकन फर्किनु भयो ।’

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याइएको छ । निषेधाज्ञा जारी रहेका कारण सदरमुकाम क्षेत्रमा भेला, प्रदर्शन तथा नाराजुलस रोकिएको छ । बुधबार गोलखाडामा सदरमुकाम सार्नुपर्ने मागसहित भएको ¥याली र प्रदर्शनका क्रममा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको उनले बताए । ‘निषेधित क्षेत्र बाहिरसम्म जुलुस आएको थियो,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा उहाँहरूले आफ्ना कुरा राखेर फर्किनु भयो ।’

जिल्लामा सदरमुकामको विषयमा विवाद बढ्दै गएको छ । अस्थायी सदरमुकाम रहेको रुकुमकोट र स्थायी सदरमुकाम बनाउन गत वर्ष सरकारले निर्णय गरेको गोलखाडा पक्षधर परस्पर विरोधी मागसहित आन्दोलनमा छन् । गोलखाडाबासीले सरकारको निर्णयअनुसार सदरमुकाम सार्नुपर्ने माग गर्दै आएका छन् भने रुकुमकोटबासीले रुकुमकोटमै स्थायी सदरमुकाम कायम गर्नुपर्ने माग गर्दै आएका छन् ।

सरकारले जिल्ला सदरमुकाम सार्न गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि अदालतले तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको थियो । सोहीअनुसार हाल अस्थायी सदरमुकाम रुकुमकोट नै कायम छ । अदालतले उक्त मुद्दाको पेसी माघ २७ गतेका लागि तोकेको छ । पेसी नजिकिँदै गर्दा जिल्लामा प्रदर्शन पनि तीव्र हुँदै गएको हो । स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाकर्मीको संख्या बढाएको छ । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञालाई निरन्तरता दिइएको प्रशासनको भनाइ छ ।


Views: 70