23rd April | 2019 | Tuesday | 9:46:59 AM

बिपी उद्यानमा शहीद पार्क, कांग्रेसको कडा आपत्ति

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (६:३५ AM)

बिपी उद्यानमा शहीद पार्क, कांग्रेसको कडा आपत्ति

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता जननायक बिपी कोइरालाको सम्झनामा उद्यान निर्माणका लागि वीरगन्जमा छुट्ट्याइएको जमिनमा शहीद पार्क बनाउने निर्णयमा आपत्ति जनाएको छ । बिपी उद्यानका लागि वीरगन्जको घन्टाघर नजिकैको जमिनमा प्रदेश २ सरकारले शहीद पार्क निर्माणका लागि प्रक्रिया अघि बढाएपछि कांग्रेसले आपत्ति जनाएको हो ।
बिपी उद्यानका लागि भनेर छुट्ट्याइएको जमिनमा शहीद पार्क बनाउन माघ १६ गते मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका थिए । मुख्यमन्त्रीले गरेको शिलान्यासमा माघ २४ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले आपत्ति जनाएको थियो । बैठकको निर्णय आइतबार सार्वजनिक गरिएको हो ।
‘बिपी कोइरालाका नाममा वीरगन्जमा निर्माण गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ’, आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको केन्द्रीय समितिको निर्णयमा भनिएको छ । कांग्रेसले बिपी कोइरालाको नाममा उद्यान निर्माणका लागि अहिलेसम्म भएका निर्णय र आवश्यक प्रमाणहरू जुटाउन समय लाग्ने देखिएका कारण केन्द्रीय कार्यसमिति बैठकको निर्णय ढिलो गरी सार्वजनिक गर्नुपरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले बिपी उद्यान निर्माणका लागि २०४९ सालदेखि भएका पहलसँगै जग्गा नामसारीको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले पत्रकार सम्मेलनमै उद्यान निर्माणका लागि छुट्ट्याइएको जमिनको जग्गाधनी दर्ता प्रमाण पुर्जाको छाया प्रति समेत सार्वजनिक गरे ।
वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गाधनी दर्ता प्रमाण पुर्जामा उक्त जमिन बेचबिखन गर्न, स्वामित्व हस्तान्तरण गर्न तथा बिपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । ‘श्री ५ को सरकार (म.प.) को मिति २०६०÷७÷२७ को निर्णय अनुसार वीरगन्ज उपमहानगरपालिकाले बेचबिखन हक हस्तान्तरण गर्न नपाउने । बिपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाइने,’ जग्गाधनी दर्ता प्रमाण पुर्जाको कैफियत महलमा लेखिएको छ ।
उक्त जमिनमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका अर्थ एवं श्रम तथा यातायात व्यवस्था मन्त्री डा प्रकाशचन्द्र लोहनीले २०६० कात्तिक २७ गते बिपी उद्यान निर्माणको शिलान्यास गरेका थिए । तत्कालीन मन्त्री डा लोहनीले उद्यानको शिलान्यास गरेको समाचार प्रकाशित गोरखापत्र दैनिकको समाचार र वीरगन्ज उपमहानगरपालिकाका तत्कालीन मेयर गोपाल गिरीले ‘बिपी उद्यान निर्माण स्थल’ लेखिएको साइनबोर्ड अगाडि उभिएर खिचाएको फोटो समेत पत्रकार सम्मेलनमा देखाइएको थियो ।
कांग्रेसले केन्द्र सरकारको जानकारीमै बिपीको नाम नामेट गर्ने अभिप्रायले मुख्यमन्त्री राउतले बिपी उद्यान निर्माण गर्ने विगतको योजना र निर्माण बदर गर्ने दुष्प्रयास गरेको भन्दै आपत्ति जनाएको छ । ‘तत्कालीन राजा ज्ञानेन्द्रको सरकारका पालामा समेत नमेटिएको बिपीको नाम अहिलेको केपी ओली नेतृत्वको सरकारले मेट्न खोज्यो, यो हाम्रा लागि कदापि स्वीकार्य हुन सक्दैन’ प्रवक्ता शर्माले भने ।
उनले यसअघि सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल प्रदेश सरकार मातहत राख्ने प्रयास गरेको र अहिले फेरि बिपी कोइरालाको नाममा वीरगन्जमा शिलान्यास गरिएको उद्यानलाई प्रदेश सरकारले अर्कै नाम दिएर पुनः शिलान्यास गरेको भन्दै आपत्ति जनाए ।
‘हाम्रा स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताल नामेट गर्ने केन्द्रीय सरकारको प्रयास भर्खरै असफल भएको छ । यही बेला त्यही प्रवृत्ति वीरगन्जमा देखिएको छ,’ उनले भने, ‘पूर्वनिर्णयलाई कायम राखेर तत्काल बिपी उद्यान निर्माण प्रक्रियालाई अगाडि बढाउन हामी तीन तहका सरकारसँग आग्रह गर्दछौं ।’
कांग्रेसले निर्णय तत्काल सच्याउन माग गर्दै अन्यथा सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ । ‘प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनीतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नाम पनि हो । तर प्रश्न उहाँको नामको मात्रै होइन, मूल प्रश्न वर्तमान नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्ति पनि हो,’ प्रवक्ता शर्माले भने । उनले नियतवश बिपीको नाम अवहेलना गर्ने गम्भीर दुस्साहस गरेको भन्दै शर्माले तत्काल सच्याउन माग गरे । नसच्याए तत्कालै संसद्देखि सडकसम्म कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।  


Views: 57