18th February | 2019 | Monday | 4:25:14 PM

मन्त्रालयमा सरकारी चिकित्सकको धर्ना

हिमालय टाइम्स   POSTED ON : Monday, 11 February, 2019 (1:44:39 PM)

मन्त्रालयमा सरकारी चिकित्सकको धर्ना

काठमाडौं । सरकारले आगामी फागुन ३ गतेसम्म सक्ने गरी कर्मचारी समायोजन थालेको भए पनि सरकारी चिकित्सकहरूले भने आन्दोलन जारी राखेका छन् । समायोजनप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन् ।
आइतबार सरकारी चिकित्सक संघमा आबद्ध चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन् । यसअघि सरकारी चिकित्सक संघ र स्वास्थ्य जनसंख्या मन्त्रालयबीच भएको समायोजन, संगठन संरचना र चिकित्सकहरूको मर्यादा लगायतमा सहमति प्राथमिकताका साथ कार्यान्वय गर्न माग राख्दै चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन् । सरकारी चिकित्सकहरूले, समायोजनपछि आफूहरूले पाउने सुविधा, प्रतिष्ठानका विषयमा भएका सहमतिहरू पनि अक्षरशः पालना गर्दै शीघ्र कार्यान्वयनको माग राखेका छन् ।
प्रहरीद्वारा हस्तक्षेप
सरकारले सहमतिहरू कार्यान्वयन गर्न ढिलाइ गरेको आरोप लगाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका चिकित्सकहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ । संघले यसअघि घोषित कार्यक्रम अनुसार नै आइतबार मन्त्रालय घेराउ गरेको हो । चिकित्सकहरू मन्त्री र सचिवको कार्यकक्ष भएकै तलामा धर्नामा बसेपछि प्रहरीले हस्तक्षेप गरी धर्नाकारीलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा प्रहरीले लाठीचार्ज गरेको सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार धर्नामा बसेका २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएर केहीबेरमा छाडेको थियो ।
अध्यक्ष डा पाण्डेसहित सरकारी चिकित्सकलाई पक्राउ गरी केही समय प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको थियो । उनीहरूलाई साँझ ५ बजेपछि छाडिएको थियो । सोमबार पनि शान्तिपूर्ण धर्ना जारी रहने पाण्डेले बताए । समायोजनको विषयमा मन्त्रालयसँग सम्झौता भए पनि कार्यान्वयन नगरेको चिकित्सक संघको आरोप छ । यही माघ २५ गते संघले उपत्यकामा भेला आयोजना गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार उपत्यका र बाहिरबाट आएका चिकित्सकहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फागुन ३ गतेसम्म शान्तिपूर्ण रूपमा धर्ना बस्ने छन् । धर्नामा उपस्थित हुन सक्ने अवस्था नभए आफू कार्यरत संस्थामा कालोपट्टी बाँधेर काम गर्ने निर्णय भेलाले गरेको थियो ।
सरकारले फागुन ३ गतेसम्म पनि सहमति कार्यान्वयनका लागि कदम नचाले ४ गतेबाट विरोधका कडा कार्यक्रम गर्ने चेतावनी संघले दिएको छ ।
नेपाल चिकित्सक संघले शान्तिपूर्ण ढंगबाट धर्नामा बसेका चिकित्सकहरूलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । चिकित्सकको माग र संवेदनशिलतालाई बेवास्ता गरी शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप भएको संघको आरोप छ । संघका महासचिव डा लोचन कार्कीले प्रेस विज्ञप्ति जारी गरी सरकारले धर्नामा बसेका चिकित्सकमाथि धरपकड गरेको भन्दै विरोध जनाएका हुन् । ‘शान्तिपूर्वक धर्ना दिइरहेका सरकारी चिकित्सकमाथि मन्त्रालय परिसरमै प्रहरी लगाई दमन गर्ने, धरपकड गर्ने तथा हातपात गर्दै गिरफ्तार गरिएका घटनाको भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


Views: 28