18th February | 2019 | Monday | 5:07:41 PM

महानगरले दियो नगरलाई एक करोड

सरिशा अछामी   POSTED ON : Monday, 11 February, 2019 (1:46:53 PM)

महानगरले दियो नगरलाई एक करोड

काठमाडौं । काठमाडौं जिल्लाका सबै नगरलाई काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँका दरले सहयोग गरेको छ । काठमाडौंका १० वटा नगरपालिकामध्ये टोखा नगरले गएको असारमै रकम लगिसकेको छ । आइतबार टोखाबाहेकका अन्य ९ वटा नगरलाई एक÷एक करोडको चेक हस्तारण गरिएको छ ।
महानगरले पार्क निर्माण, हरियाली प्रवद्र्धन र सार्वजनिक जग्गा संरक्षणमा खर्च गर्ने गरी रकम उपलब्ध गराएको हो । आइतबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगर प्रमुखहरूसँग साझेदारिता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहयोग रकमको चेक प्रदान गरे ।
महानगरका प्रमुख शाक्यका अनुसार उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एक मत छ । महानगरभित्र पनि गर्नुपर्ने काम धेरै छन् । छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुँदैन । नगर–नगर साझेदारिताबाट अघि बढेमात्र महानगर राम्रो हुने शाक्यको भनाइ छ । शाक्यले महानगरमा भित्रिने सवारी साधन धोइपखाली गरेर मात्र प्रवेश गराउने विषयमा छिट्टै ठोस काम हुने बताए ।
कार्यक्रममा बोल्दै संघीय सांसद सदस्य कृष्णगोपाल श्रेष्ठले उपत्यकाको एकीकृत विकासका लागि महानगरको कामको प्रशंसा गरे । आफूले आफ्नो राजनीतिक यात्राका क्रममा यस प्रकारको साझेदारिता पहिलो पटक महसुस गर्न पएको उनले बताए । महानगरले उपलब्ध गराएको रकम नगरले जुन योजना पेस गरेर प्राप्त गरेको हो त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ ।


Views: 55