23rd August | 2019 | Friday | 3:01:42 PM

ओली–दाहाल तीन घन्टा वार्ता : ‘मिलेर जाने र थप नचर्काउने सहमति’

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (११:४५ AM)

ओली–दाहाल तीन घन्टा वार्ता : ‘मिलेर जाने र थप नचर्काउने सहमति’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो असमझदारीका विषयमा तीन घन्टा कुरा भएको छ । दुई अध्यक्षबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
दाहालले भेनेजुएलाका विषयमा पार्टीका तर्फबाट जारी गरेको वक्तव्यपछि उत्पन्न असमझदारी र आपसी प्रतिवादका सन्दर्भमा उक्त भेटवार्ता भएको हो । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेटबारे जानकारी गराउँदै अध्यक्षद्वयबीच कुरा मिलेको तथा भेनेजुएलाका विषयमा कुरा नचर्काउने र मिलेर अघि बढ्ने सहमति भएको बताए ।
पौडेलका अनुसार अध्यक्षद्वय ओली र दाहालबीच लामो कुरा भयो । उनले भने, ‘उहाँहरू (ओली र दाहाल) बीच तीन घन्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ । अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा पौडेलले सरकार सञ्चालनमा मिलेर अघि बढ्ने र सल्लाह गरेरै निर्णय गर्ने सहमति भएको बताए । पार्टी एकीकरणको काममा दुवै अध्यक्षले पहलकदमी लिने र सम्पन्न गर्ने पनि कुरा भएको पौडेलले बताए । उनले भने, ‘उहाँहरूबीच गम्भीर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे कुरा भएको मैले पाएको छु ।’
पौडेलले भेनेजुएलाबारे पार्टी सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको पनि बताए । उनले अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गरेर गल्ती नगरेको जिकिर पनि गरे । उनले भने, ‘सबै कुरा मिलिसक्यो, अब यसमा अल्झिनु पर्दैन ।’
ओली र दाहालबीच शनिबार भेटवार्ता भएको जानकारी दिइए पनि के कुरा भयो भन्ने खुलाइएको थिएन ।
पौडेलका अनुसार अध्यक्ष दाहाल र नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीबीच पनि भेट भएको छ । उनले अमेरिकी राजदूत र पार्टी अध्यक्ष दाहालबीच पनि शनिबार भेट भएको र भेटमा दाहालले वक्तव्यका विषयमा प्रस्ट पारेको पौडेलले जानकारी गराए । उनले अमेरिकी राजदूतले दाहाललाई अमेरिका भ्रमणको निम्तो दिएको पनि खुलासा गरे । उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भइसक्यो । अब यसलाई अनावश्यकरूपमा उचाल्नु हुँदैन ।’
पौडेलले पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरू ख्याल गर्नुपर्नेमा पनि बताए । उनले भने, ‘शब्दहरूको ख्याल पु¥याउनुपर्छ । अरु कुनै पनि राष्ट्रलाई चिढ्याउनु हुँदैन ।’
द्वन्द्वकालीन न्यायको प्रसंगमा पौडेलले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुंगो लगाउने काम गरिरहेको बताए । केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू र केही संघसंस्थाहरूले उचाल्ने काम गरेको उनको आरोप थियो ।
रिपोर्टर्स क्लबको सोही कार्यक्रममा मुख्य विपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष दाहालले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको बताए । प्रधानमन्त्री ओली स्वदेश फर्केपछि सरकारले पनि दाहालकै लाइनमा वक्तव्य जारी गरेको उनको भनाइ थियो । खड्काले प्रश्न गरे, ‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरू किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन ?’
उनले सत्तारुढ नेकपा र सरकारले लामो कूटनीतिक सम्बन्ध रहेको अमेरिकालाई चिढ्याउने काम गरेको आरोप लगाए ।
ओली विदेशमा रहेका बेला दाहालले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राजनीतिक संकटमा अमेरिकाको विरोध गरेर वक्तव्य जारी गरेका थिए । दाहालले भेनेजुएलामाथि अमेरिकाले साम्राज्यवादी कु गरेको आरोप लगाउँदै सैहृय नहुने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले वक्तव्यमा शब्द चिप्लिएको र आफू स्वदेशमै रहेको भए वक्तव्य आउने नै थिएन भनेपछि दाहालले व्यक्तिगत भनाइको अर्थ नरहने भन्दै प्रतिवाद गरेका थिए । अर्को दिन दाहालले सरकारको काममा चर्को असन्तुष्टि जनाउँदै प्रश्नको ओइरो लगाएका थिए ।


Views: 145