23rd April | 2019 | Tuesday | 9:49:49 AM

महासमितिको सुझाव विपरीत देउवा

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (७:०३ AM)

महासमितिको सुझाव विपरीत देउवा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अप्रत्यासित पराजय बेहोरेपछि आन्तरिक विवादमा फसेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा पछिल्लो समय नयाँ विवाद देखापरेको छ । महासमिति बैठकले पारित गरेका अजेन्डा विधानमा समेट्न सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएपछि कांग्रेसमा नयाँ विवाद सिर्जना भएको हो ।
महासमिति बैठकको समापन समारोहमा आफैँले गरेको प्रतिबद्धता विपरीत सभापति देउवा र उनी निकटका नेताहरू जिल्ला सभापतिहरूले दिएका सुझाव विपरीत जान खोजेपछि पछिल्लो समय कांग्रेसमा विवाद बढेको छ ।
महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय कार्यसमितिमा रहेका नेताहरू महाधिवेशन प्रतिनिधि हुन बुथ तहबाटै चुनाव जितेर आउनुपर्ने सुझाव दिएका थिए । यसैगरी आरक्षण कोटामा एक पटकभन्दा बढी र समावेशी कोटामा पनि एक पटकभन्दा बढी अवसर नदिने व्यवस्था विधानमै गर्न सुझाव दिएका थिए ।
सुझाव अनुसार विधान संशोधन गरिनुपर्ने माग राख्दै जिल्ला सभापतिहरूले महासमिति बैठक अवरोध गर्ने अवस्था सिर्जना भएपछि सभापति देउवाले मागलाई केन्द्रीय समिति बैठकबाट समावेश गरेर विधान पारित गर्ने आश्वासन दिएका थिए । महासमिति बैठक सम्पन्न भएको दुई महिना नबित्दै सभापति देउवाले बोली फेरेका छन् । उनले बुधबार बसेको केन्द्रीय समिति बैठकमा आफूले यो विषयमा आश्वासन नदिएको दाबी गरेको स्रोतको भनाइ छ ।
सोही बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफूले जिल्ला सभापतिहरूलाई आश्वासन दिएको भन्दै माग पूरा गर्न तयार रहेको बताए । ‘मैले वचन दिएको हो । प्रतिबद्धता गरेको विषय पूरा गर्नै पर्छ । त्यसका लागि म तयार छु,’ एक केन्द्रीय सदस्यले पौडेलको भनाइ उद्धृत गरे । पछिल्लो समय आफू वरिपरिका नेताको दबाबका कारण देउवा आफ्नै प्रतिबद्धताबाट पछि हटेका हुन् । केन्द्रीय कार्यसमितिमा बहुमतमा रहेका देउवाले महासमिति बैठकको समापन समारोहमा गरेको प्रतिबद्धता उल्लंघन गरेर विधान पारित गर्ने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन् ।
देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय पदाधिकारी तथा सदस्य महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानमा यथावत रहने बताउँदै आएका छन् । केन्द्रीय पदाधिकारी तथा सदस्यहरू महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानमा यथावत राख्न सभापति देउवा तयार भइसकेको उनको भनाइ छ ।
यसैबीच जिल्ला सभापतिहरूले गत मंसिरमा सम्पन्न पार्टीको महासमिति बैठकमा दिएका सुझावलाई १४ औं महाधिवेशनसम्म लैजाने तयारी गरेका छन् । महासमिति बैठकमा दिएका सुझाव अनुरूप पार्टीको विधानले अन्तिम रूप नपाउने देखिएपछि जिल्ला सभापतिहरूले आफ्ना अजेन्डा आगामी महाधिवेशनसम्मै लैजाने तयारी गरेका हुन् ।
केन्द्रीय सदस्यहरू स्वतः पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था र समावेशी कोटामा एक पटकभन्दा बढी पटक दोहोरिन नपाउने व्यवस्था परिमार्जन गरेर विधान संशोधन नहुने देखिएपछि जिल्ला सभापतिहरूले आफ्ना अजेन्डा महाधिवेशनमा लैजाने मनस्थिति बनाएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
‘यो अजेन्डा हामी सभापतिहरूको मात्रै नभएर महासमिति सदस्यहरूको पनि हो । देशभर छरिएर रहेका कांग्रेसजनको अजेन्डा हो । फेरि समापनमा सभापति र वरिष्ठ नेताले यसलाई विधानमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको थियोे,’ जिल्ला सभापति केसीले भने, ‘केन्द्रीय समितिले कथमकदाचित हाम्रो माग सुनुवाइ नगरे हामी आफ्नोे सामूहिक अजेन्डालाई १४ औं महाधिवेशनमा अगाडि बढाउँछौं ।’
त्यस्तै कांग्रेस काभ्रेका सभापति मधु आचार्यले महासमितिले पारित गरेको विषय केन्द्रीय कार्यसमितिले उल्ट्याउन खोज्नु हास्यास्पद भएको प्रतिक्रिया दिए । ‘महासमितिले पारित गरेको विषय केन्द्रीय समितिले उल्ट्याउन खोजेको भन्ने सुनिँदै छ, त्यसो हो भने यो कुरा हास्यास्पद छ, पार्टी नेतृत्वले महासमितिको निर्णय उल्टाए असहज अवस्था आउँछ,’ उनले भने ।


Views: 64