18th February | 2019 | Monday | 4:54:50 PM

भ्रष्टाचार विष वृक्षजस्तै : राष्ट्रपति

हिमालय टाइम्स   POSTED ON : Tuesday, 12 February, 2019 (11:56:10 AM)

भ्रष्टाचार विष वृक्षजस्तै : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई ‘विष वृक्ष’को संज्ञा दिँदै यसलाई बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताएकी छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने गुनासो बढ्दै गएकाले नियन्त्रणका लागि महाअभियान चलाउनु पर्ने आवश्यकता औंल्याइन् ।
भ्रष्टाचार विष वृक्षजस्तै भएको उल्लेख गर्दै उनले यो जति बढ्दै जान्छ उति नियन्त्रण गर्न मुस्किल पर्ने बताइन् । भ्रष्टाचार भइसकेपछि कारबाही गर्नुभन्दा भ्रष्टाचार नै नहुने वातावरण सिर्जना गर्न सुझाव दिँदै उनले ‘सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार विरोधी महाअभियानमा आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गर्दछु ।’
सुशासन प्रवद्र्धन गर्न आगामी दिनमा आयोगको भूमिका अझ प्रभावकारी हुने विश्वास उनले व्यक्त गरिन् । ‘भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिहरूबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय हो,’ उनले भनिन्, ‘गैरकानुनीतवरले आर्जित धनसम्पत्तिले क्षणिक लाभ भए पनि अन्ततोगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा समेत नकारात्मक असर पार्दछ भन्ने तथ्य पनि मनन् गर्नु आवश्यक छ ।’
राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएका सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरूप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने उनको भनाइ थियो । ‘सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने कुराप्रति प्रतिबद्ध हुनु नै भ्रष्टाचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो,’ उनले भनिन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दश वर्षमा दान दिने ठाउँमा पुग्ने दाबी गरे । देशमा भइरहेको भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक अवस्थामा उल्लेख्य सुधार गर्दै दान लिने अवस्थाबाट दिने अवस्थामा पुग्न सकिने उनको भनाइ थियो ।
‘पाँच–दश वर्षपछि नेपाल गरिब छ, भ्रष्टाचार छ भन्ने अवस्था राखिनु हुन्न,’ उनले भने, ‘विद्वानहरूको सन्तान भएको, उर्बर भूमि भएको सदाचार युक्त देश हो भन्ने पहिचान बनाउनुपर्छ । त्यसका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ ।’
भ्रष्टाचार ढाकछोप गर्ने संस्कृति अन्त्य गर्नुपर्ने खाँचो औंल्याउँदै उनले भने, ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरे भने भ्रष्टाचार नै हुँदैन ।’ सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने उनले बताए ।
भ्रष्टाचार भ्रष्टहरूको पनि शत्रु भएको उनले बताए । पैसा लुकाउने छट्पटी, जोगिने छट्पटीमा भ्रष्टाचारी पिल्सिरहने उनको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकाय कृतसंकल्पित रहेको भन्दै अब यसलाई लुकाउन सम्भव नहुने बताए । भ्रष्टाचार गर्नेलाई परिवारबाट समेत घृणा नै मिल्ने उनले प्रस्ट पारे ।
आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माणसम्बन्धी काम कानुनअनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । उनले आयोगलाई विकास निर्माणको बाधक नभई सहयोगीका रूपमा हेर्न आग्रह गर्दै ती क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोसिस आयोगको रहने बताए । राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी गर्न थालिएको जानकारी दिँदै उनले भ्रष्टाचार सबैको शत्रु भएकाले सबैको साझा धारणाबाट मात्र यसको नियन्त्रण सम्भव हुने बताए ।


Views: 23