19th August | 2019 | Monday | 9:28:03 PM

म्यानपावर कम्पनी तीन तहमा वर्गीकरण

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७५ (५:०२ AM)

म्यानपावर कम्पनी तीन तहमा वर्गीकरण

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन हुने भएको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन संशोधन विधेयकअन्तर्गत वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गरी म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण गरेको छ । प्रत्येक तहका म्यानपावर कम्पनीका लागि धरौटीको अलगअलग व्यवस्था गरिएको छ ।
वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड रुपैयाँ बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउनेलाई एक करोड नगद र तीन करोड रुपैयाँ बैंक ग्यारेन्टी तथा ५ हजारभन्दा बढी कामदार पठाउनेलाई दुई करोड नगद र पाँच करोड रुपैयाँ बैंक ग्यारेन्टीको व्यवस्थासहित ऐन संशोधनको तयारी भएको हो । यसअघि सरकारले वार्षिक एक हजार कामदार विदेश पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थासँग धरौटीबापत एक करोड नगद र बैंक ग्यारेन्टीबापत २ करोड तथा वार्षिक ५ हजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थासँग धरौटीबापत नगद २ करोड र बैंक ग्यारेन्टीबापत ४ करोड रुपैयाँ लिने उल्लेख गरेको थियो ।
समितिले प्रस्ताव गरेको संशोधन अनुसार अब वर्षमा एक सयजना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज हुनेछन् । त्यस्ता कम्पनीलाई एक पटकका लागि अवसर दिने र अर्को वर्ष पनि कामदार पठाउन नसके खारेज गर्ने व्यवस्थासहितको निर्णय समितिले गरेको हो ।
त्यस्तै एउटै परिवारबाट एकभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने व्यवस्था पनि गर्न लागिएको छ । हाल त्यसरी सञ्चालन हुँदै आएका म्यानपावर कम्पनीलाई मर्ज हुन ६ महिनाको समय दिने व्यवस्था गरिनेछ ।
समितिले पारित गरेको विधेयक मंगलबार बस्ने संघीय संसद् बैठकमा पेस गर्ने तयारी छ ।
समितिका सभापति कृष्णभक्त पोखरेलका अनुसार समितिले संविधानसँग बाझिएका र संविधानअनुकूल नभएका १६२ ऐनलाई सर्वसम्मतिले संविधान अनुकूल बनाएको छ भने ५ वटा ऐन खारेज गरेको छ । संविधानअनुकूल बनेका १६२ ऐनमध्ये ५७ वटा विधेयक छन् । ती सबै विधेयक समितिबाट पारित भइसकेका छन् ।


Views: 66