25th April | 2019 | Thursday | 7:36:56 AM

झन् अन्योलमा नेविसंघ : अध्यक्ष महरद्वारा राजीनामा

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७५ (५:०६ AM)

झन् अन्योलमा नेविसंघ : अध्यक्ष महरद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय समितिमा नेविसंघबारे मतान्तर बढेपछि महरले सोमबार राजीनामा दिएका हुन् ।
महरले दिएको राजीनामालाई सभापति शेरबहादुर देउवाले सोमबार नै स्वीकृत गरेका छन् । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले अध्यक्ष महरको राजीनामा स्वीकृत गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राजीनामा पत्र बुझाउनुअघि पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र नेता गुरुराज घिमिरेलाई सँगै राखेर गरिएको पत्रकार सम्मेलनमा महरले महाधिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति भएकाले महाधिवेशन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै पनि राजीनामा दिनुपरेको बताएका थिए ।
उनले पत्रकार सम्मेलनमा नेविसंघकै विषयलाई लिएर पार्टीको केन्द्रीय कार्यसमिति विभाजित भएकाले पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिने निष्कर्षमा पुगेको पनि बताए । महर निकट विद्यार्थी नेताहरूले पार्टीका नेताहरूले राजीनामा दिन दबाब सिर्जना गरेपछि उनी राजीनामा दिन तयार भएका हुन् ।
महरले पार्टी सम्पूर्ण रूपले एक ढिक्का भएर सर्वसत्तावाद उन्मुख सरकारविरुद्ध संघर्ष गर्ने वातावरण बनेको समयमा नेविसंघको समयावधि थप गर्ने कि नगर्ने भन्ने विषयमा पार्टी केन्द्रीय कार्यसमितिमा नेताहरूबीच विवाद हुनु हुँदैन भन्ने कुरामा आफू सचेत भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले वीरगन्जको छप्कैयामा नेपाली भूमि अतिक्रमणको विरोधमा दशगजा क्षेत्रमा गरिएको विरोध प्रदर्शन, संयुक्त राष्ट्रसंघ युथ एसेम्ब्लीमा विधिवत सहभागिता, २० वर्षपछि सोसलिस्ट इन्टरनेसनल अफ युथको उपाध्यक्षमा नेविसंघको विजय र साढे ६ लाख सदस्यता वितरणलाई आफ्नो कार्यकालका महŒवपूर्ण उपलब्धि भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
महरले स्ववियु निर्वाचनसँगै तीनवटै तहको चुनावका कारण १४ महिना संगठनको आन्तरिक काम गर्न नसकेको र केही समयसम्म संगठनभित्र विवाद सिर्जना भएका कारण सोचेअनुरूप काम गर्न नसकेको स्वीकार गरेका छन् । उनले दुई वर्षीय कार्यकालपछि थपिएको तीन महिनामा विधान पेस गरिए पनि पार्टीको आन्तरिक समस्याका कारण विधान स्वीकृत हुन दुई महिनाभन्दा बढी समय लागेको पनि गुनासो गरेका छन् ।
‘विधान नभएकै कारण हामीले महाधिवेशनको कार्यतालिका अगाडि बढाउन सकेनौं,’ महरले पत्रकार सम्मेलनमा भने, ‘पछिल्लो पटक थप गरिएको दुई महिनाको समयमा पनि पार्टीको महासमिति बैठक र स्कुल, कलेजको हिउँदे बिदाका कारण महाधिवेशनको प्रक्रिया सुरु हुन सकेन ।’ उनले पार्टीभित्रको गुटगत प्रभाव र अवरोधका बाबजुद २२ जिल्लामा अधिवेशन सम्पन्न गर्न आफू सफल भएको पनि बताए ।
‘७० प्रतिशत स्कुल, कलेज र ५५ प्रतिशत बढी स्थानीय तहमा नेविसंघको अधिवेशन सम्पन्न भइसकेको छ,’ महरले भने, ‘३० भन्दा बढी जिल्ला मातहतका स्कुल, कलेज र स्थानीय तहमा अधिवेशन सम्पन्न भई जिल्ला अधिवेशनका लागि तयारी अवस्था रहेकाले महाधिवेशनप्रतिको मेरो दृढ संकल्प पुष्टि भइसकेको छ ।’
राजीनामा पेस गरेपछि सभापति देउवा, प्रवक्ता शर्मा र अध्यक्ष महरबीच छुट्टै छलफल भएको थियो । छलफलमा महरले देउवासमक्ष पार्टीकै नेताहरूका कारण नेविसंघ अहिलेको अवस्थामा पुगेको गुनासो गरेको स्रोतको भनाइ छ ।
राजीनामा पत्र बुझाउँदै महरले पार्टी सभापति देउवालाई तदर्थ समिति गठन गर्दा सचेत रहन आग्रहसमेत गरेका छन् । स्रोतका अनुसार महरले देउवाको कोटरीले नेविसंघ अहिलेको हालतमा आएको भन्दै तदर्थ समिति बनाउँदा पनि कोटरीकै कुरा सुने दुर्घटनामा हुनेमा सचेत गराएका थिए । जवाफमा देउवाले सल्लाह गरेरै तदर्थ समिति गठन गर्ने आश्वासन दिएका थिए ।  
पछिल्लो समय संस्थापनाभित्रको उपसमूहमा आफू निकटका विद्यार्थी नेताहरूलाई नेविसंघको नेतृत्वमा ल्याउन होडबाजी चलेको थियो । सोही अनुसार नै सभापति देउवामाथि संस्थापन पक्षीय नेताहरूले महर नेतृत्वको कार्यसमिति भंग गर्ने दबाब दिँदै आएका थिए ।
नेविसंघमा आफ्नो प्रभुत्व जमाउन उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता बालकृष्ण खाँण लागी परेका छन् । निधिले आफूनिकट पवन यादव, महतले प्रेमराज जोशी र खाँणले प्रकाश घिमिरेलाई तदर्थ समितिमा ल्याउन चाहिरहेका छन् । महरले तीन नेताहरूको नाम नलिए पनि घुमाउरो पारामा सभापतिलाई उनीहरूबाट जोगिएर सक्षम नेतृत्व चयन गर्न आग्रह गरेको स्रोतको भनाइ छ ।
पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै महरले महाधिवेशन सम्पन गराउन तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताएका थिए । पत्रकार सम्मेलनमै उपस्थित पार्टी प्रवक्ता शर्माले राजीनामा सभापति समक्ष पुगेपछि मात्रै तदर्थ समितिका लागि छलफल सुरु हुने बताए । अब बन्ने तदर्थ समितिमा ३२ वर्षे उमेरहद लागु हुन्छ कि हुँदैन भन्ने पत्रकारहरूको जिज्ञासामा उनले प्रस्ट जवाफ दिएनन् । तदर्थ समितिमा भर पर्ने बताए ।
नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिना माघ २ गते पूरा भएकेको थियो । पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमिति यथावत राखेको थियो । महरले २०७३ भदौ २ मा नेविसंघको जिम्मेवारी सम्हालेका थिए । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मनोजमणि आचार्यलाई ११९ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका थिए ।


Views: 50