18th February | 2019 | Monday | 4:17:26 PM

अस्थायी शिक्षकका फरक–फरक आन्दोलन

हिमालय टाइम्स   POSTED ON : Tuesday, 12 February, 2019 (12:13:15 PM)

अस्थायी शिक्षकका फरक–फरक आन्दोलन

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामा सामेल हुन नपाएका अस्थायी तथा करार शिक्षकहरूले आन्दोलन सुरु गर्ने भएका छन् । परीक्षामा अनुत्तीर्ण भएका शिक्षकहरूले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी मंगलबारदेखि आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
केही महिनाअघि सरकारले लिएको आन्तरिक परीक्षा विभेदकारी भएको भन्दै उनीहरूले पुनः आन्तरिक परीक्षाको माग राखेका छन् । सरकारले विभेदकारी ढंगबाट आफूहरूलाई परीक्षामा संलग्न गराएको परीक्षामा तयारीको समय नदिएकोले फेरि परीक्षा गर्न उनीहरूले माग छ ।
०६१ पछि नियुक्त भएका तर ७५ प्रतिशतको आन्तरिक परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका शिक्षकहरूले सरकारसँग पुनः परीक्षाको माग राखेका हुन् । मंगलबार देशभरिका विद्यालयबाट शिक्षकहरू राजधानीमा भेला भई विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालय धुम्बाराहीमा धर्ना दिने बताइएको छ ।
२०७२ पछिको छुट्टै आन्दोलन
यता २०७२ असोजपछि नियुक्त भएका शिक्षकहरूले आफूहरूलाई आन्तरिक परीक्षामा सामेल नगराएको भन्दै आन्दोलन सुरु गरेका छन् । शिक्षक सेवा आयोगले केही महिनाअघि लिएको परीक्षामा आफूहरूलाई सामेल नगराएको र अब सरकारले आफूहरूसँग गरेको सहमतिअनुसार कि आन्तरिक परीक्षा हुनुपर्ने वा आर्थिक सुविधा दिएर बिदा गर्नुपर्ने माग राखेका छन् ।
शिक्षक सेवा आयोगले तीन वर्गमा छुट्याएर परीक्षा लिएको थियो । २०४९ भन्दा अघिदेखि कार्यरत, ०४९ देखि ०६१ र ७१ देखिका शिक्षकको वर्ग छुट्याएर परीक्षा लिएको थियो । जसअनुसार ०४९ भन्दा पहिलेका शिक्षकहरू परीक्षामा सहभागी भएमात्रै पनि उत्तीर्ण हुने, ६१ सम्मका शिक्षकहरूले ४० अंक ल्याउनुपर्ने र त्यसपछिका शिक्षकहरूले कुल दरबन्दीको ७५ प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था थियो । बाँकी २५ प्रतिशतमा खुला प्रतिस्पर्धा गराइएको थियो । यसमा २०७२ पछि नियुक्त शिक्षकहरूलाई भने सामेल गराइएको थिएन ।


Views: 30