26th March | 2019 | Tuesday | 2:17:13 AM

नेविसंघमा ३२ वर्षे उमेरहद माग

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७५ (७:१० AM)

नेविसंघमा ३२ वर्षे उमेरहद माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले संगठनको तदर्थ समितिमा पदाधिकारी तथा सदस्यहरूको उमेरहद ३२ वर्ष कायम गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी काफ्लेले ३२ वर्षे उमेरहद कायम गरेर तदर्थ समिति गठन गर्न पार्टी नेतृत्वसँग माग गरेका हुन् । 

उनले पार्टीमा असहमति रहँदा रहँदै पनि नेविसंघमा ३२ वर्षे उमेरहद लागु गरिएको बताए । ‘अब त्यसको कार्यान्वयन गर्नु पहिलो सर्त हो,’ काफ्लेले भने । निर्वाचित कार्यसमितिले १२ औं महाधिवेशन गर्ने वातावरण निर्माणका लागि संघको मूल नेतृत्व र पार्टीले असहयोग गरेको पनि उनले आरोप लगाए । काफ्लेले पार्टी नेतृत्वलाई नेविसंघको विधानको व्यवस्था र राजनीतिक मर्मअनुरूप तत्काल तदर्थ समिति गठन गरेर संगठनलाई निकास दिन आग्रह गरे । नेविसंघले विभिन्न २१ जिल्लामा ३२ वर्षे हदबन्दी अनुरूप जिल्ला अधिवेशन सम्पन्न गरिसकेको दाबी गर्दै काफ्लेले उमेरहदबाट पछि फर्कन नमिल्ने जिकिर गरे । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघको तदर्थ समिति बनाउन सबै पक्षसँग छलफल गरी अघि बढ्न पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ ।


Views: 31