27th May | 2019 | Monday | 3:02:37 PM

मन्त्रिपरिषदको निर्णय–३५ दिन भित्र अवैध हतियार बुझाउन आह्वान

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ३०, २०७५ (१२:०७ PM)

मन्त्रिपरिषदको निर्णय–३५ दिन भित्र अवैध हतियार बुझाउन आह्वान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाएको सरकारले पुष्टि  गरेको छ ।

मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्म्मेलनमा सूचना सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यसलाई पुष्टि गरेका छन् ।

त्यसैगरी सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ ।

उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ’, उनले बताए ।

त्यसैगरी सरकारले दुई देशका नेपाली राजदूतलाई मन्त्री सरहको सुविधा दिने निर्णय गरेको पत्रकार सम्मेलनमा उनले बताए ।

मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीस्तरको सेवा सुविधा दिने निर्णय गरेको प्रवक्ता बाँस्कोटले बताए ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पनि तत्कालीन सरकारले मन्त्रीसरहको सुविधा दिएको थियो   


Views: 112