22nd July | 2019 | Monday | 5:19:13 PM

बन्दकोे आंशिक प्रभाव, ठाउँ ठाउँमा राखिएका बम निष्क्रिय पारिए

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:०२ AM)

बन्दकोे आंशिक प्रभाव, ठाउँ ठाउँमा राखिएका बम निष्क्रिय पारिए

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आहृवान गरेको नेपाल बन्दका कारण बिहीबार देशभर जनजीवन प्रभावित भएको छ । 

बन्दका कारण बिहीबार बिहानैदेखि विभिन्न जिल्लाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरू चलेनन् । काठमाडौंबाट बाहिरी जिल्लाका लागि छुट्ने सवारी साधनहरू बुधबारबाटै बन्द रहे । काठमाडौंको नयाँ बसपार्कबाट बुधबार छुटेर बिहीबार बिहान र दिउँसोसम्म गन्तव्यमा पुग्ने कुनै पनि बस चलेनन् ।

‘हिजो (बुधबार) छुटेर आज (बिहीबार) बिहान, दिउँसोमात्र पुग्ने महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगञ्जका बसको टिकट काटेका थिएनौं,’ नयाँबसपार्क टिकट काउन्टरका कर्मचारीले भने, ‘लामो रुटका सबै टिकट काउन्टर बुधबार बन्द भए ।’ उनका अनुसार बिहीबार बेलुकी ५ बजेपछि भने नयाँ बसपार्कबाट लामो दूरीका बसहरू गन्तव्यका लागि छुटे । 

बन्दको प्रभाव पूर्वी तराईका जिल्लामा सामान्य र पहाडी जिल्लामा बढी परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि पौडेलले जनाए । बन्दका कारण सयौं यात्रु दिनभर बाटोमै अलपत्र परेका थिए । विप्लव समूहले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, विभिन्न जिल्लामा भएको ‘अप्रेसन’ विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै बिहीबार आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको थियो । 

बन्दको सबैभन्दा ठूलो असर शैक्षिक संस्थामा प¥यो । देशभरका झन्डै ३५ हजारभन्दा बढी विद्यालय बन्द रहे । शैक्षिक सत्र २०७५ को अन्त्यतिर अन्तिम परीक्षाको तयारीमा रहेका विद्यालय र परीक्षासमेत सञ्चालन गरिरहेका विद्यालयहरू बन्दको मारमा परे निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनले जनाएको छ । राजधानी काठमाडौंलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरूले बिहीबार बिदा दिएका थिए । काठमाडौंमा समेत सार्वजनिक यातायातका साधन आधाजसो चलेका थिए । कतिपय ठाउँमा पसलहरू पनि बन्द थिए । सार्वजनिक सवारी साधन कम चल्दा कारण यात्रुले बिहानैदेखि हैरानी बेहोर्नु प¥यो । 

विप्लव समूहले बन्द सफल पार्न देशका विभिन्न ठाउँमा विष्फोटक पदार्थ राख्नुका साथै केही सवारी साधनहरूमा आगजनीसमेत गरेको छ । बन्दकर्ताले कैलालीमा एउटा जन्तीबस जलाएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार उनीहरूले जन्ती बसमा आगो लगाएका हुन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म१ख ४४१ नम्बरको बिहेको बाजा बोकेको बसमा बन्दकर्ताले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले बताए । घटनामा संलग्न रहेको आशंकामा कैलाली प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

नेकपा कैलालीका इन्चार्ज विवेक कुमालले प्रहरीले पक्राउ गरेका व्यक्तिहरू आफ्नो पार्टीका कार्यकर्ता नहेको जनाएका छन् । उनले जलाइएको बसले जन्ती नबोकेको जिकिर पनि गरेका छन् । उक्त बस भजनीमा जन्ती पु¥याएर फर्किरहेको उनले बताए । 

बन्दकर्ताले बुधबार राति मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना५ख ७४११ नम्बरको ट्रक जलाएका थिए । हेभी इक्विपमेन्ट बोक्ने ट्रकमा राति पौने १२ बजे आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बन्दकर्ताले कास्की, उदयपुर, मकवानपुर, गोरखा, बाँके, कैलालीलगायत स्थानमा बम राखेर स्थानीयलाई त्रसित पारेका थिए । ती बमहरूलाई नेपाली सेनाले निष्क्रिय पारेका कारण कुनै अप्रिय घटना भने हुन पाएन । 

पोखरामा दुईवटा सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । गोरखामा पनि बम भेटिएको थियो । गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुुसार कटारी नगरपालिका–२ देवीधापस्थित सडकमा फेला परेको सुतली बम पनि सैनिक टोलीले निष्क्रय पारेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रको मूलगेटमा पनि बम भेटिएको थियो ।

बाँकेको नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत पर्ने राँझा चोकमा केट्ली बम राखिएको थियो । बिहीबार बिहानै चोकमा राखिएको बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको थियो । कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । 

विप्लव समूहले नेपाल बन्द आहृवान गरेपछि बिहानैबाट देशभर सुरक्षामा कडाइ गरिएको थियो । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोलीलाई पनि गस्तीमा परिचालन गरेको थियो । 


Views: 59