22nd July | 2019 | Monday | 5:19:57 PM

‘विप्लवको समूह आपराधिक’, अवैध हतियार बुझाउन सूचना जारी हुने

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:०६ AM)

‘विप्लवको समूह आपराधिक’, अवैध हतियार बुझाउन सूचना जारी हुने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक गतिविधि गरेकाले प्रतिबन्ध लगाउनुपरेको जनाएको छ । सरकारले अवैध हतियार सरकारलाई बुझाउन ३५ दिने सूचना पनि जारी गर्ने भएको छ । 

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विप्लव समूह’ भनेर चिनिने नेकपा नामक समूहका गतिविधि हिंसात्मक भएकाले प्रतिबन्ध लगाउनुपरेको जानकारी गराएका छन् । उनले कुनै पार्टीलाई नभएर उसका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको बताए । 

मन्त्री बास्कोटाका अनुसार कानुन अनुसार इजाजत नलिई वा इजाजत नवीकरण नगरी हतियार राखेको भए अवैध हुने र त्यस्तो अवैध हतियार सरकारलाई बुझाउन सूचना जारी हुनेछ । कसैले अवैध हतियार राखेको भए, हतियार कारखाना चलाएको भए नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारले पटक पटक विप्लव समूहसँग वार्ताको प्रयास गर्दा पनि सफल नभएपछि आपराधिक गतिविधि रोक्न प्रतिबन्ध लगाउनुपरेको प्रस्ट पारे । ‘शान्तिपूर्ण ढंगले आफ्ना कुरा राख्न पाउने अधिकार संविधानले सबैलाई दिएको छ,’ उनले भने, ‘आतंककारी शैलीमा आपराधिक काम गर्दै हिँड्ने, दूरसञ्चार तथा विद्युतजस्ता संवेदनशील क्षेत्रमा क्षति गर्ने समूहलाई के गर्ने ? के हामी हिंसा चाहन्छौँ ?’

विप्लव समूहले पटक पटक अरुण तेस्रो जलविद्युत आयोजनामा विस्फोट र आगजनी गरेको, देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा क्षति पु¥याएको र स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूलाई चन्दाका लागि धम्क्याउने क्रम बढेकाले उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नुपरेको मन्त्री बास्कोटाले बताए । निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, निर्दोष व्यक्तिको ज्यान लिने, अंगभंग गर्ने, विस्फोट गर्नेजस्ता ‘संगठित अपराध गर्ने’ जो सुकैलाई पनि नछोड्ने उनले बताए । 

मन्त्री बास्कोटाले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने तथा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई पनि कारवाही गर्ने पनि बताए । उक्त समूहलाई प्रतिबन्ध लगाएको विषयलाई प्रमुख प्रतिपक्षी दलले पनि समर्थन गरेको र पार्टीभित्र पनि छलफल चलिरहेको उनले प्रस्ट पारे । प्रचलित कानुन अनुसार नै प्रतिबन्ध लगाएको जिकिर गर्दै उनले संगठित अपराध ऐन २०७० अनुसार विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिए ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएको थियो ।

विप्लवको नेकपाले गत फागुन १० गते ललितपुरको नख्खुमा दूरसञ्चार प्रदायक एनसेलको कार्यालयबाहिर गराएको विस्फोटमा एकजनाको मृत्यु भयो भने तीनजना घाइते भएका थिए । सोही दिन देशका विभिन्न ठाउँमा एनसेलका टावरहरूमा विस्फोट गराएका थिए । फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरका विस्फोट गराएको थियो । उक्त दलले हतियार जम्मा गरेको र सैन्य संरचना बनाउन थालेको सूचना पाएको सरकारी अधिकारीहरूले जनाउँदै आएका छन् । 

सरकारले सबै राजनीतिक दल तथा समूहहरूसँग वार्ता गर्न सरकारले पूर्वमन्त्री तथा नेकपा नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली बनाएको थियो । विप्लवको दलले वार्ता गर्न अस्वीकार गरेको थियो । 

‘जनअभिमत भनेको निर्वाचन’

मन्त्री बास्कोटाले सरकार र सिके राउत समूहबीच भएको सम्झौतामा उल्लेख भएको शब्द जनअभिमतको अर्थ निर्वाचन भएको प्रस्ट पारेका छन् । उनले लोकतन्त्रमा जनअभिमत भनेको ‘निर्वाचन’ हुने बताए । ‘जनअभिमत भनेको निर्वाचन हो,’ उनले भने, ‘त्यसमार्फत जनताले प्रकट गर्ने मत नै जनअभिमत हो ।’

फरकढंगले हिँडिरहेको समूहले सम्झौतामा हस्ताक्षर हुँदाको समयमा राष्ट्रिय गान बज्दा उठेको प्रसंग उल्लेख गर्दै बास्कोटाले भने, ‘राष्ट्रिगान बज्दा उहाँ (सिके राउत) पनि उठ्नुभयो होला । गाउनुभयो होला । सायद संविधान स्वीकार गरेको पनि यसैलाई मान्न सकिन्छ । यही कुरा जनअभिमत भित्र पर्छ ।’

शब्दको खेती चलिरहने र शंका गर्न पाउने तर्क गर्न पाउने अधिकार पनि संविधानले सबैलाई दिएकाले शंका र तर्क गर्न सबैले पाउने उनले बताए । ‘ठीक छ आउँछु भन्नेलाई खेद्न मिल्दैन होला नि,’ बास्कोटाले भने, ‘विप्लवजी आउनुभयो भने पनि यस्तै हुन्छ । रातो कार्पेट बिच्छ्याएर स्वागत गर्छौं । दश औंला जोडेर बिन्ती गर्छु, आउनुहोस् ।’

राउतका समर्थकहरूले देखाएको ‘फ्री मधेस’ अंकित झन्डाका विषयमा बास्कोटाले खहरे खोलाको उदाहरण दिए । सिके राउतले नै ११ बुँदे सहमति गरेर गइसकेपछि अभ्यस्त भइसकेका, बानी लागेका कार्यकर्तालाई त्यस्तै हो ।’ कांग्रेसले अर्कोलाई जय नेपाल र कम्युनिस्टले लाल सलाम भनेजस्तै गरी त्यसलाई बुझ्नुपर्ने उनले बताए । ‘त्यस्तै बानी लागेकाले झन्डा देखाएको होला । लेकको पानी नै घटेपछि खहरे आफैं ठेगानमा आउँछ,’ उनले भने, ‘यसमा चिन्ता लिनुपर्ने कुरै भएन ।’


Views: 78