26th March | 2019 | Tuesday | 1:46:30 AM

टेन्डर रद्द गराउन प्रधानमन्त्रीलाई पत्र

रमा लुइँटेल   POSTED ON : चैत्र १, २०७५ (५:१० AM)

टेन्डर रद्द गराउन प्रधानमन्त्रीलाई पत्र

ललितपुर । ललितपुर महानगरपालिकाले पाटनको देगु तलेजु मन्दिर पुनर्निर्माणका लागि पुरातŒव विभागले आहृवान गरेको टेन्डर तत्काल रद्द गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै पत्र लेखेको छ । 

टेन्डरमार्फत सम्पदाको पुनर्निर्माण गर्दा गुणस्तर कायम नहुने उल्लेख गर्दै महानगरले मंगलबार प्रधानमन्त्री ओलीलाई पत्राचार गरेको हो । बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर, स्वथःको राधाकृष्ण मन्दिर, शंखमूलको जगतनारायण मन्दिर तथा सुन्धाराको उमा महेश्वर मन्दिरको पुनर्निर्माण कार्य सुरु गरेको लामो समय भए पनि अहिलेसम्म टुंगिन सकेको छैन । यी मन्दिरको पुनर्निर्माणको काम सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत टेन्डर प्रक्रिया मार्फत सुरु गरिएको थियो । 

पुरातŒव विभागले जनकपुरको जानकी मन्दिर संरक्षण, पाल्पाको भैरवस्थान मन्दिर तथा सत्तल÷दरबार पुनर्निर्माण र ललितपुर पाटनको देगु तलेजु मन्दिर जीर्णोद्धारको टेन्डरका लागि २०७५ फागुन २१ गते गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । यो सूचना अनुसार टेन्डर हाल्ने समय चैत ५ गतेसम्म छ । 

ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन टेन्डरमार्फत सम्पदाको पुनर्निर्माण गर्न दिने हो भने सम्पदाको संरक्षण नहुने बताए । उनले भने, ‘ललितपुर महानगरमा जति पनि सम्पदा अलपत्र परेका छन्, ती सबै टेन्डर प्रक्रियाबाट काम थालिएका सम्पदा हुन् ।’ उनका अनुसार ती सम्पदामध्ये कुनैको काम अघि बढ्न सकेको छैन भने कुनैको सक्नुपर्ने समयभन्दा निकै ढिलो काम भइरहेको छ । 

सार्वजनिक खरिद ऐन, ०६३ अनुसार टेन्डर न्यूनतम बोलपत्रकर्ताले टेन्डर पाउने व्यवस्था छ । टेन्डरकर्ताको क्षमता र उसले प्रदान गर्ने सेवा र गुणस्तरीयताको बारेमा उल्लेख छैन । 

देगु तलेजु मन्दिरजस्तो ऐतिहासिक सम्पदाको पुनर्निर्माण टेन्डर प्रक्रियामार्फत नगराउन माग गर्दै कार्तिक नाच संरक्षण समिति, मंगल टोल सुधार संघ, ज्येष्ठ नागरिक समाज नेपाल र देगु तलेजु मन्दिरका मूल पुजारीलगायतले ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । 

सार्वजनिक खरिद ऐनमार्फत सम्पदा निर्माण गर्दा गुणस्तरीयता कायम नहुने भन्दै मेयर महर्जनले प्रधानमन्त्री ओलीलाई सम्पदा पुनर्निर्माण अमानतमा गर्ने व्यवस्था मिलाउन यसअघि नै अनुरोध गरिसकेका छन् । 

पाटन दरबार क्षेत्रको उत्तरी भागमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण स्थानीय तहबाट गर्नका लागि प्रधानमन्त्री ओलीले देखाएको चासो महŒवपूर्ण भएको बताउँदै मेयर महर्जनले भने, ‘प्रधानमन्त्रीज्यूको पहलकदमीबाट नै भीमसेन मन्दिरको पुनर्निर्माणको काम स्थानीय तबरबाटै सुरु भइसकेको छ ।’ महानगरको पहलमा ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीयको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माणको काम सुरु भइसकेको छ । 


Views: 23